म,तिमी,तिम्री प्रेमिका र भ्यालेन्टाइन
-जयन्ती स्पन्दन
तिमी भन्छौ
म तिम्रो भगवान
म भन्छु
कतै मान्छे पनि भगवान हुन सक्छ र ?
तिमी र म फगत एउटै भावना र आस्थाले समिटिएका
बाँच्नुको अर्थमा
एउटै गन्तव्य बोकेर
जीवन यात्रामा निस्किएका ।
तिम्री प्रेमिकाको नजरमा तिमी
एक्काइसौं शताब्दीको
इम्पोर्टेड सभ्यताको खिल्ली उडाएर
मात्र पुलिन्दा बनिरहेछौ
किनकि तिम्री प्रेमिकाले
सो रूमबाट रातागुलाफ किनेर
इन्टरनेटबाट डाउनलोडेड प्रेमपत्र पठाएर
तिम्रो प्रतिविम्बमा ब्वाइफ्रेन्डको कल्पना गर्दै
मायाका भाका जप्दा पनि
यो मदमस्त भ्यालेन्टाइन पर्वमा
प्रेम जोडीहरू क्याफे र रेस्टुरेन्टहरूमा
पार्क,डेटिङ र रिजभ्ड रूमहरूमा
आलिङ्नमा रमाइरहदा पनि
कति निरीह बनिरहेछन तिम्रा मनहरू
कति लाचार बनिरहेछन् तिम्रा आँखाहरू
सायद
तिमी आस्था उमारी
सिर्जनाका तुनाहरू बुन्न खोज्छौ
प्रेमलाई जीवनको केन्द्रबिन्दु ठानी
समझदारी र हार्दिकता बाड्न खोज्छौ।
वास्तवमा न त भगवानको प्रतिरूपमा
तिलस्मी जादुको चमत्कारझै
उपलब्धिका ज्वारभाटा चलाउने सफ्टवेयर पाउछौ
न त सगरमाथाका उचाइमा झै पुग्ने
प्रस्थान बिन्दु पाउछौ
त्यसैले त म
फगत एकपल्ट प्रश्न गरिरहेछु
कतै मान्छे भगवान बन्न सक्छ र?
म त तिम्रो कल्पनाको भगवानबाट
मान्छे बन्न खोजीरहेछु
म त केवल तिम्रा कर्मका पत्र -पत्रमा
तिम्रा निर्दोष आँखाहरूमा
कर्मशिल दिमागहरूमा
प्रत्येकपल असङख्य कर्मशील अङ्कुर जन्मिएको सपना बोक्छु!
प्रेमको सामिप्यता कहा हुदैन र?
म तिमी र तिम्री प्रेमिकाको एकपसर प्रेममा पनि
तीर हान्न सल्बलाउने पासा हैन
इच्छुमती र रूद्रमतीका हराएका आस्था हैन
वैशालु अवयवमा यौवन बिसाउने माया हैन
फुलैफुल उमार्ने सिर्जनाका हातहरूले
अनेकौँ आँत पुरिएको हेर्न चाहन्छु
समर्पण र मायालु मिलनबिन्दु चाहन्छु
साँच्चै अब त तिमीले
यो भ्यालेन्टाइनको अवसरमा
यो बसन्त उमार्ने हरियालीमा
कोर्नुपर्छ समय चक्रका शिल्पहरू
सँगाल्नुपर्छ अलौकिक अनुभूतिका क्रमहरू
बसाउनुपर्छ जीवन -चेतनाका बस्तीहरू
रोप्नुपर्छ समृद्द नपालका भाकाहरू
प्रकाशित मिति २०७४-११-१
फेसबुकबाट तपाईको प्रतिक्रिया