महाशिवरात्रि पर्व २०८१ को ट्राफिक व्यवस्थापन

काठमाडौं १४ फागुन, २०८१। आज महाशिवरात्रि पर्व हो । तपाईहरु पशुपति दर्शनका लागि जाँदै हुनुहुन्छ या सोही बाटो प्रयोग गरेर अन्त कतै जाँदै हुनुहुन्छ भने आजको सवारी रुटबारे जानकारी लिएर मात्र निस्कनुहोेस् ।

कुन रुट प्रयोग गर्ने ? कहाँ पार्किङ्ग गर्ने ? भन्ने विषयमा जानकारी लिएर मात्र घर बाहिर निस्कनु उचित हुन्छ । किन कि पशुपति क्षेत्रविकास कोष र ट्राफिक प्रहरीको समन्वयमा पार्किङ्ग स्थलहरु तय थरिएको छ । आज पशुपतिनाथ मन्दिर वरपर सवारीसाधान लैजान वा पाइँदैन ।

शिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भीड व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार सिनामंगलदेखि गौशाला हुँदै चाबहिलसम्मको चक्रपथ क्षेत्रमा सवारीसाधन प्रवेश पूर्णरुपमा निषेध गरिएको छ ।
यस्तै पुरानो बानेश्वरदेखि भीमसेनगोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोबाट सवारी प्रवेश निषेध गरिएको छ ।

अर्कातर्फ धोबीखोला रातोपुल, कालोपुल, सिफल लगायतका क्षेत्रबाट पनि पशुपतिनाथ मन्दिर तर्फ जाने सवारीसाधनलाई प्रतिबन्ध लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । चाबहिल, गौरीघाट लगायत क्षेत्रबाट समेत सवारीलाई पशुपति क्षेत्रभित्र प्रवेश नदिइने भएको छ ।

पार्किङ्ग एरिया

आज (बुधबार) सवारीसाधन व्यवस्थापनका लागि सिफल चौर, गुह्येश्वरीपारि, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, अमालकोट, तिलगंगा करिडोर र सुरक्षा निकायका सवारीका लागि महानगरीय प्रहरी वृत्त गौशला एरिया तोकिएको छ ।

यसैगरी पशुपति दर्शनका लागि पाल्नुहुने भक्तजनका सवारी साधनको पार्किङ्ग भने तिलगङ्गा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरीपारि करिडोर सडकमा मिलाइएको छ । दमकल, एम्बुलेन्स र खानेपानीका ट्यांकरहरुलाई वनकाली क्षेत्रमा पार्किङ्ग गर्ने व्यवस्था मिलाइएको छ ।

पासवाहक सवारीसाधनहरु भने कोषको कार्यालय र सिफलचौरमा र सुरक्षाकर्मीका सवारी साधनलाई प्रहरी वृत्त गौशालामा पार्किङ गर्ने व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया