माओबादी-कांग्रेस गठबन्धनको यस्तो निर्णय

काठमाडौँ ५ श्रावण

काँग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वबीच संसद्मामा प्रस्तुत अविश्वासको प्रस्तावलाई पारित गर्ने सम्बन्धमा छलफल भएको छ । सिंहदरबारमा आज दुई दलका शीर्ष नेतृत्वबीच भएको बैठकमा प्रधानमन्त्री केपी  ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव पारित गर्न मिलेर अघि बढ्ने सहमति भएको हो ।

संसद्को कार्यसूचीका सम्बन्धमा अविश्वासको प्रस्ताव र बजेटसँग सम्बन्धित विधेयकलाई कार्यसूचीमा समावेश गर्ने र पहिले अविश्वासको प्रस्तावमा छलफल गर्ने सहमति भएको काँग्रेस सभापति शेरबहादुर देउवाले बताए । माओवादी केन्द्रले काँग्रेससँग मिलेर सरकारका विरुद्धमा असार २९ गते अविश्वासको प्रस्ताव सदनमा दर्ता गरेको थियो । सो अविश्वास प्रस्तावमाथि भोलि सदनमा छलफल सुरु हुँदैछ ।

बैठकले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नै संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावको छिनोफानो भएपछि मात्र अन्य कार्यसूचीलाई अघि बढाउने निर्णय गरेको बैठकमा सहभागी काँग्रेस नेता रमेश लेखकले जानकारी दिए । छलफलमा काँग्रेसका सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि र लेखक तथा केन्द्रकातर्फबाट अध्यक्ष पुष्पकमल दाहाल र नेता कृष्णबहादुर महराको सहभागिता रहेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया