मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न-एमाले अध्यक्ष ओली

काठमाडौँ ४ चैत

भिमदत्तनगर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। मेची–महाकाली राष्ट्रिय अभियानको समापन अबसरमा एमालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने— ‘अभियानमा जनसहभागिता, उत्साह र जनताको स्वतःस्फूर्त सद्भावबाट पार्टी अत्यन्त उत्साहित र हर्षित भएको छ। ’ अध्यक्ष ओलीले अभियानमा सहभागिता, सहयोग र ऐक्यबद्धता प्रकट गर्नुहुने आमजनसमुदायमा कृतज्ञता ज्ञापन गर्दै वर्तमान सरकारले बितेको सात महिनामा स्थानीय तहको निर्वाचन मिति घोषणाबाहेक अन्य कुनै पनि काम गर्न नसकेको आरोप लगाए। “विभिन्न आकर्षक आवरणभित्र निर्वाचन रोक्ने प्रयास हुँदैछन्,” उनले भने – “सरकार गलत ढङ्गले प्रयोग भइरहेको छ, कसैलाई सन्तुष्ट पार्न ७४४ स्थानीय तहलाई बढाउने खेलमा प्रधानमन्त्री हुनुहुन्छ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सीमामा अतिक्रमण, नेपालीमाथि हेपाहा प्रवृत्ति देखाएर नेपालीको भावनामा चोट नपुर्‍उन भारतसित आग्रह गर्दै केही दिन अघि भारतीय सुरक्षा बलको गोली लागेर सहादत प्राप्त गरेका पुनर्वासका गोविन्द गौतमको घटनामा भारतले नेपाल र नेपाली नागरिकसित माफी माग्नुपर्ने तथा दोषी सुरक्षाकर्मीलाई कारबाही गर्नुपर्ने माग गरे। ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमानः सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि मेची–महाकाली अभियान’ भन्ने नाराका साथ नेपालको पूर्व झापा जिल्लाको काँकडभिट्टाबाट सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियान पश्चिमको कञ्चनपुरस्थित महेन्द्रनगरमा पुगेर बिहीबार सम्पन्न भएको छ ।

अभियानको प्रचारप्रसारका लागि झन्डै १० लाख घरधुरीमा पुगेर कार्यकर्ताले ५० लाखभन्दा बढी जनतालाई पार्टीको अपिल वितरण गरेका र २५ किलोमिटरभन्दा लामा र्‍यालीहरू भएको अध्यक्ष ओलीले बताए। “अभियान नेकपा एमालेले सुरु गरे पनि यो पार्टीको मात्रै अभियान होइन, राष्ट्रकै अभियान हो, पत्रकार सम्मेलनमा अध्यक्ष ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ— अभियानमा प्राप्त सामाजिक र नैतिक पुँजीलाई हामी आगामी दिनमा राष्ट्र निर्माण र संविधान कार्यान्वयनमा अधिकतम सदुपयोग गर्ने सङ्कल्प गर्दछौँ ।” “अभियानको तेस्रो दिन राजविराजमा मधेसी मोर्चाका कार्यकर्ता विखण्डनकारी र हिंसात्मक तत्वहरूको हतियार राख्ने आडका रूपमा प्रयोग हुनु दुखद र चिन्ताको विषय हो” —वक्तव्यमा भनिएको छ । तत्काल राजनीतिक दलसम्बन्धी विधेयकलगायत अन्य आवश्यक कानुनहरू अविलम्ब निर्माण गर्न, निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको कार्ययोजना प्रस्तुत गर्न, संविधान संशोधन विधेयक फिर्ता लिन र निर्वाचनसम्बन्धी अन्योल हटाएर सिङ्गो राष्ट्रलाई निर्वाचनको दिशामा अग्रसर गराउन अध्यक्ष ओलीले आह्वान गरे। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया