यसकारण सप्तरीमा धान उत्पादन घट्यो

काठमाडौँ १० पुस

सप्तरी- साउनको अन्तिम महिनामा आएको बाढीका कारण यस वर्ष सप्तरीमा धान खेत बगाउँदा धान उत्पादनमा कमी आएको छ । बाढी र पछिल्लो समय पानी तथा सिँचाइको अभावले गत वर्षको तुलनामा करिब पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको जल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । धान रोपाइँको समयमा पर्याप्त वर्षा नभएको र रोपिसकेपछि आएको बाढीका कारण उत्पादनमा कमी आएको वरिष्ठ कृषि विकास अधिकृत भागीरथ यादवले बताउनुभयो । यस वर्ष सप्तरीमा एक लाख ४९ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस वर्ष ५४ हजार ५०० हेक्टरमा धानबाली लगाइएको थियो ।

गत आर्थिक वर्षमा ५२ हजार हेक्टर जमिनमा प्रतिहेक्टर २.७५ मेट्रिक टनको दरले धान उत्पादन भएको थियो । आव २०७१÷७२ मा ४२ हजार हेक्टर जमिनमा प्रतिहेक्टर अढाइ मेट्रिक टन धान उत्पादन भएको थियो । अन्न भण्डारका रुपमा चिनिने तराईका जिल्लामध्ये सप्तरीमा ५४ हजार ५०० हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया