युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

काठमाडौँ, ११ फागुन । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)मार्फत् नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरेका छन् ।
अर्थसमितिको आजको बैठकमा सांसद गङ्गा कार्कीले युएसएडमार्फत् नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (फ्रड) भनेको उल्लेख गर्दै उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखिन् ।
“युएसएडमार्फत् नेपालको वित्तीय सङ्घीयताका लागि अमेरिकाले दिएको रकमलाई त्यहाँका राष्ट्रपतिले नै ‘फ्रड’ हो भन्नुभएको छ । अनौपचारिक रुपमा बुझ्दा उक्त रकम प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत् खर्च भएको भन्ने जानकारी पाएको छ । यस विषयमा आयोगसँग जवाफ मागिनुपर्छ”, सांसद कार्कीले भनिन् ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी राष्ट्रपतिले कुन सन्दर्भमा युएसएडको सहयोगलाई ‘फ्रड’ भनेका हुन भन्ने बुझ्नुपर्ने बताए । उनले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदानका लागि आफू अर्थमन्त्री हुँदा हस्ताक्षर भएको र त्यसलाई सबै दलले संसद्बाट पारित गरेको विषय पनि उठाए । अर्थ समितिमा छलफलको क्रममा रहेका विधेयकमाथि चाँडो छलफल गरेर टुङ्गोमा पु¥याउनुपर्ने पनि उनको भनाइ छ ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले अमेरिकी राष्ट्रपतिले बोलेको विषयमा समितिमा नभइ संसद्मा छलफल गरिनुपर्ने बताए । “ट्रम्पले भनेका विषयमा यहाँ छलफल आवश्यक छैन । यो समिति भन्दा पनि संसद्को विषय हो”, उनले भने, “युएसएडले गरेको खर्च कुन समयको हो र के कार्यक्रममा खर्च भएको थियो भनेर अर्थ मन्त्रलयसँग विवरण माग गर्न सकिन्छ । यसबारे लिखित पत्राचार गरौँं र मन्त्रालयसँग विवरण मागौँं ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया