युनियन लाइफ इन्स्योरेन्सको साधारण शेयरमा आवेदन खुल्यो
काठमाडौ २४ असार २०७८ ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयरमा आजबाट आवेदन खुला भएको छ । कम्पनीले ६४ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो । कम्पनीको साधारण शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
उक्त शेयर कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यस्तै ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २५० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।
कम्पनीको साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । त्यस दिनसम्म माग गरिए भन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया