राजीनामा नदिने, जस्तोसुकै परिणाम स्वीकार गर्ने एमालेको निर्णय

काठमाडौं–५ श्रावण

सत्तारुढ दल नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वास प्रस्ताव पेस भइसकेको अवस्थामा राजीनामा दिन नहुने निष्कर्ष निकालेको हो ।

बैठकले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएर राजीनामा मागेको भए दिनुपर्ने तर अविश्वास प्रस्ताव पेस गरेपछि त्यसको सामना गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको जनाइएको छ । लोकतान्त्रिक मूल्य–मान्यता र संविधानले निर्शिष्ट गरेको व्यवस्थाअनुसार आउने ‘जुनसुकै परिणाम’लाई सहज रूपमा स्वीकार गर्ने बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

“व्यवस्थापिका–संसद्मा अविश्वास प्रस्ताव पेस भएपछि राजीनामा दिने कुरै हुँदैन,” बैठकको निर्णयबारे जानकारी दिँदै सचिव भीम आचार्यले भने, “प्रधानमन्त्रीले कुनै पनि हालतमा राजीनामा दिनुहुन्न । अविश्वास प्रस्तावको सामना गर्ने निर्णय भएको छ ।” सरकार परिवर्तनको खेल ‘अनपेक्षित’ भएको निष्कर्षसमेत बैठकले निकालेको छ ।

संसद्मा अविश्वास प्रस्ताव पारित भएपछि संवैधानिक व्यवस्थाअनुसार अघि बढ्ने एमालेको निष्कर्ष रहेको आचार्यले बताए । “प्रस्ताव पास भए पनि हामी संवैधानिक व्यवस्थाअनुरूप अघि बढ्छौं,” उनले भने, “नयाँ सरकार गठनका लागि संवैधानिक अस्पष्टता रहेका कारण त्यसको निर्णय लिने अधिकार राष्ट्रपतिसँग छ । उहाँले स्वतन्त्र ढंगबाट निर्णय लिनुहन्छ । हामी राष्ट्रपतिको निर्णयअनुसार अघि बढ्छौं ।” आजको कारोबार दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया