रामनाथ कोबिन्द भारतको १४औं राष्ट्रपति निर्वाचित

नयाँ दिल्ली ५,साउन   ।

रामनाथ कोविन्द भारतीय राष्ट्रपतिमा निर्वाचित भएका छन् । भारतीय इतिहासमा तल्लो जातबाट निर्वाचित हुने कोविन्द दोस्रो भाग्यशाली व्यक्तित्व हुन् ।

भारतीय संवैधानिक राष्ट्रपतिको संवैधानिक पदमा लागि भएको भारतीय संसद तथा राज्य सभाका सदस्यबाट उनलाई ६५ प्रतिशत मत प्राप्त भएको, निर्वाचन आयोगले बताएको छ ।

एकहत्तर बर्षीय पूर्व वकील तथा राज्य सरकारका गभर्नर भइसकेका सिमान्तकृत दलित समुदायका कोविन्दलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी गठवन्धनका ‘नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए)’ तर्फबाट मनोनयन भई गत सोमवार मतदान भएको थियो । मतगणना बिहीवार सम्पन्न भएको हो ।

विपक्षी गठबन्धनको उम्मेदवारलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । भाजपा नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठवन्धनबाट राष्ट्रपतिका उम्मेदवार बनेका  कोविन्दले ६५ दशमलव ३५ प्रतिशत मत प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कङ्ग्रेस आई नेतृत्वको युपीए गठबन्धनकी उम्मेदवार मीरा कुमारले ३४ दशमलव ३५ प्रतिशत मत पाएकी थिईन् । साउन २ गते सम्पन्न निर्वाचनपछि बिहीवार सम्पन्न मतगणनामा कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मीरा कुमारले ३ लाख ६७ हजार ३१४ मत पाएको आयोगले बताएको छ ।

निर्वाचनमा भारतका लोकसभाका र राज्य सभाका सांसदले मतदान गरेका थिए ।

भारतका वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल यही साउन ९ गते सकिएपछि नवनिर्वाचित राष्ट्रपति कोविन्दले राष्ट्रपतिको जिम्मेबारी सम्हाल्ने छन् ।

भारतको जम्मा एक अर्व ३० करोड जनसङ्ख्यामा करीब २० करोड जनसङ्ख्या गरीब दलित समुदायको रहेको छ । उनी भारतीय इतिहासमा दलित समुदायबाट राष्ट्रपति बन्ने दोस्रो व्यक्ति हुन् । रासस÷पीटीआई÷एएफपी

 

फेसबुकबाट तपाईको प्रतिक्रिया