राष्ट्रिय कोडिङ प्रतियोगिता׃आदिम कलेज, दूरशिक्षा र आईसीटी फ्रेम म्यागजिनबीच सहकार्य

काठमाण्डौ १४ साउन २०८१ -राष्ट्रिय कोडिङ प्रतियोगिता सम्पन्न गर्नका लागि आदिम कलेज, दूरशिक्षा र आईसीटी फ्रेम म्यागजिन प्रालि बीच औपचारिक रूपमा समझौतापत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ । यो सहकार्यले नेपालका आईटी विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरू वृद्धि गर्न सहयोग पुर्याउनुका साथै बालबालिकाहरूमा कोडिङ सीप विकासलाई टेवा पुर्याउने उदेश्य राखिएको छ । यस साझेदारीले देशको भविष्यको आईटी शिक्षामा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ ।आदिम कलेजले आफ्नो स्नातक कार्यक्रमबाट बालबालिकाहरूलाई कोडिङ प्रतियोगितामा सहभागी गराउन आईटी विद्यार्थीहरू छान्नेछ । दूरशिक्षाले आवश्यक तालिम र स्रोतहरू उपलब्ध गराउनेछ भने आईसीटी फ्रेम म्यागजिनले व्यापक सहभागिता सुनिश्चित गर्न प्रवर्द्धन र प्रचारको जिम्मा लिएको छ ।

दूरशिक्षाले छानिएका मार्गदर्शकहरूलाई कोडिङ, एल्गोरिथम विकास र समस्या समाधानमा विशेष अनलाइन तालिम प्रदान गर्नेछ । यस तालिममा युवा कोडरहरूलाई प्रभावकारी रूपमा मार्गदर्शन गर्न आवश्यक सीप प्रदान गर्न प्रयोगात्मक कार्यहरू समावेश हुनेछन् ।

आदिम कलेज र दूरशिक्षाले संयुक्त रूपमा बालबालिकाहरूका लागि नियमित कोडिङ प्रतियोगिताहरू आयोजना गर्नेछन् । यी प्रतियोगिताहरूको विषयवस्तु, संरचना र मूल्याङ्कन मापदण्ड तीनवटै पक्षहरू मिलेर निर्धारण गर्ने बताइएको छ । आईसीटी फ्रेम म्यागजिनले आफ्नो च्यानलहरू मार्फत यी कार्यक्रमहरू प्रकाशन गर्नेछ ।कक्षा २ देखि ९ सम्म (उमेर ७ देखि १४ वर्ष) का विद्यार्थीहरूलाई लक्षित गर्दै कोडिङ कम्पिटिसन आयोजना हुने दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले जानकारी दिए । उनका अनुसार यो कोडिङ कम्पिटिसनले विद्यार्थीमा क्रिटिकल थिङ्किङ र प्रब्लम सल्भिङ स्किललाई बढाउन सहयोग गर्नेछ ।

कम्पिटिसनमा सहभागी हुन इच्छुक विद्यार्थी वा समूहले अनलाइनमार्फत एउटा थिम (विषय) मा आधारित रही परियोजना प्रस्ताव गर्नुपर्छ । यसपछि दूरशिक्षाका प्रशिक्षकहरूले डिसकभरी एजुकेसन कोडिङ प्लेटफर्ममार्फत कसरी परियोजना बनाउने भनेर वेबिनारमार्फत निःशुल्क सिकाउनेछन् । योसँगै विद्यार्थीले आफ्नो थिममा आधारित रही परियोजना अनलाइनबाट पठाउनुपर्ने छ ।अनलाइनमा प्राप्त परियोजनामध्येबाट आयोजकले उत्कृष्ट परियोजनाहरूबीच प्रतिस्पर्धा गर्न भौतिक कार्यक्रम गर्नेछ । त्यहाँ मेन्टरको गाइड अनुसार काम गर्नुपर्छ भने अन्त्यमा प्रतिस्पर्धी कोडरहरूले आफैंले एउटा थिममा आधारित भएर परियोजना तयार पारी पठाउनुपर्छ ।

यसरी परियोजना तयार पार्ने विद्यार्थीले डिस्कभरी एजुकेसन नेटवर्कमार्फत सहभागिताको सर्टिफिकेट पाउनुका साथै एक वर्षको सब्स्क्रिप्सन निःशुल्क पाउनेछन् ।साथै, नेपाल विजेताले ट्याबलेट, ५० हजार रुपैयाँ सहित ग्लोबल एक्सपोजर पाउनेछन् भने दोस्रो हुनेले २५ हजार रुपैयाँ र अन्य उपहारहरू प्राप्त गर्नेछन् ।

आयोजकका अनुसार नेपाल विजेताले भारतीय विद्यार्थीहरूसँग कोडिङ प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त प्रतिस्पर्धामा समेत जीत हासिल गर्न सके बेलायतको डिस्कभरी एजुकेसनको विश्वस्तरीय प्रतिस्पर्धामा छनोट हुने अवसर मिल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया