रिमोटले बम विस्फोट गराएको हुन सक्ने आशंका -काबुल घाइतेहरु

काठमाडौं ९ असार–

अफगानिस्ताको कावुलमा आतंवादी हमलामा घाइते भई उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका नेपालीहरूले आफूहरू चढेको बसमा भएको बम आक्रमण आत्मघाती नभएको बताएका छन्।आजको कान्तिपुर दैनिकमा खबर छ ।

अफगान सरकारले एक जना आत्मघातीले गुडिरहेको बसमा आक्रमण गरेको बताए पनि घाइतेहरुले आफूहरुले कुनै पनि आत्मघाती हमलाकारी तथा उसको लास नदेखेको बताएका छन् ।उनीहरुले बसमा पहिला नै बम सेट गरेर टाढाबाट रिमोटले विस्फोट गराएको हुन सक्ने आशंका गरेका छन्। उनीहरुले आत्मघाती हमलामात्र भनेर नहुने र अनुसन्धानगनुपर्ने समेत बताएका छन् ।

विष्फोट भएको बसमा सवार नेपाली सुरक्षाकर्मीका सुपरभाइजर कुमारबहादुर गुरूङले एपोलो अस्पतालबाट भने, ‘म ड्राइभर नजिकै थिए । किनभने मेरो जिम्मेवारी बाटोको सुरक्षा पनि थियो । गाडीमा विष्फोट भएपछि केही क्षणमा म बाहिर निस्केँ।’जतिसुकै पीडा भए पनि सुपरभाइजर भएको हिसाबले प्रहरी, कम्पनीदेखि सवैतिर खबर गर्ने र उद्धार गर्ने दायित्व आफ्नो भएको उनले बताए। नेपाली सेनाबाट २०६३ सालमा अवकाश पाएपछि एकाध वर्षवाहेक आफू अफगानिस्तानमा नै सेवारत रहेको उनले बताए ।

‘घटनामा मारिएका र घाइते भएकाहरुलाई हेरेँ, तर त्यहाँ आत्मघाती हमला गर्नेको कुनै लास थिएन,’ उनले भने । उनले स्थानीय सुरक्षाकर्मीलाई खबर गर्नेदेखि घाइतेलाई उपचारको लागि लैजाने क्रममा आत्मघाती आक्रमणकारीको लास खोजेको, तर फेला नपरेको बताए । उनले आफूले सवै रुट क्लियर गरेर मात्र गाडीलाई अगाडि बढाएको समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया