‘लाज शरणम्’को सेन्सर पास : ‘यूनिभर्सल’ सर्टिफिकेट पायो


काठमाडौं ११ फागुन । फागुनको १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘लाज शरणम्’को सेन्सर पास भएको छ । यो चलचित्रलाई जाँचपास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ ।
यो चलचित्रको कुल समय अवधि २ घन्टा ४० मिनेट ५२ सेकेन्ड रहेको र केही दृश्यहरुलाई सच्याउँदै चलचित्रलाई ‘यूनिभर्सल’ सर्टिफिकेट दिइएको हो ।

चलचित्रमा कलाकार सीताराम कट्टेलले निर्वाह गरेको भूमिकासँग आफ्नो गेटअप मिलेको भन्दै पूर्वमन्त्री अफ्ताव आलमले मुद्दा दायर गरेका थिए । उनको मुद्दापछि अदालतले सेन्सर अघि चलचित्रको प्रचारप्रसारमा रोक लगाएको थियो ।

कुमार कट्टेलको निर्देशनमा तयार भएको यो चलचित्रको रिलिजका लागि अब बाटो खुलेको छ । केन्द्रीय चलचित्र जाँच समितिले शुक्रवार चलचित्रको जाँच गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको जाँचमा मन्त्रालयका कानुन विभाग हेर्ने अधिकारी सँगै बोर्ड सदस्य उपस्थित थिए । स्क्रिप्टमा र चलचित्रमा आलमको बारे केही नदेखिको बोर्ड सदस्यले बताएका छन् । सेन्सर पूर्व बैठक पनि बोलाइएको थियो ।

पाटन उच्च अदालतले ‘लाज शरणम्’को प्रचारप्रसारमा रोक लगाएपछि ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम स्थगित मात्र भएन, यो विवादले टिभी शृंखला ‘सक्किगो नि’को ९१औँ भाग पनि प्रसारण रोकिएको थियो ।
अदालतको आदेशकै कारण बुधबार चलचित्रको टिमले युट्युबबाट टिजर र गीत पनि हटाएको थियो । उच्च अदालत पाटनले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट सेन्सर नभएसम्म प्रचार नगर्न अन्तरिम आदेश दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया