विद्युत् प्रधिकरणको ६ महिनामा नाफामात्र ११ अर्ब ३६ करोड

काठमाडौं १६ फागुन, २०८१ । नेपाल विद्युत प्राधिकरणले ६ महिनाको छोटो अवधिमा ७० अर्ब ४४ करोडको व्यापार गरेको छ भने यसबाट प्राधिकरणलाई ११ अर्ब ३६ करोड मुनाफा भयो । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनाको नाफा विवरण सार्वजनिक गरेको छ। साउनदेखि पुस मसान्तसम्म विद्युत् बिक्री, ब्याज र अन्य स्रोतबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी भएको छ भने विद्युत् खरिद, प्रशासनिक खर्च र विभिन्न आयोजनामा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ। कर कट्टी गर्नुअघिको यो नाफा ११ अर्ब ३६ करोड रुपैयाँ रहेको प्राधिकरणले प्रक्षेपण गरेको छ।

प्राधिकरणले कार्यकारी निर्देशक कुलमान घिसिङको पहिलो कार्यकाल सुरु भएदेखिको नाफा-घाटाको विवरण पनि सार्वजनिक गरेको छ। आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ वार्षिक घाटामा रहेको प्राधिकरण त्यसयता निरन्तर नाफामा छ। गत आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो। यो नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण, वितरणका पूर्वाधार विस्तार, सुदृढीकरण र विद्युतीकरण आयोजनाहरूमा लगानी गरिरहेको छ।

चालु आवको पहिलो ६ महिनामा विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन भएको छ। यो अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीबाट १ अर्ब १५ करोड युनिट र निजी उत्पादक कम्पनीबाट ५ अर्ब १६ करोड युनिट गरी कुल ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद गरिएको छ। यसका लागि ३४ अर्ब ८४ करोड रुपैयाँ भुक्तानी भएको छ। भारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ खर्च गरिएको छ भने १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् भारत निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी भएको छ।

यसै अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणले १३ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेको छ। वैदेशिक सहायता सोझै भुक्तानीमा १० अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ। प्राधिकरणले आफ्नो आर्थिक सुधार र पूर्वाधार विस्तारलाई निरन्तरता दिँदै विद्युत् क्षेत्रको विकासमा योगदान पुर्‍याइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया