विवादको चगुंलमा यसरी फस्दै छन् गृहमन्त्री

काठमाडौं ३ कार्तिक

अपहरण र हुन्डीमा जोडिएकालाई कारबाही प्रकृया अगाडी नबढाउन दिएको निर्देशन अटेर गरेको भन्दै प्रहरी प्रधान कार्यालयले पर्सा र सिरहाका एसपीलाई काठमाडौं झिकाएको छ । गृहमन्त्री विमलेन्द्र निधको निर्देशनमा निमित्त प्रहरी प्रमुख विज्ञानराज शर्माले पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहा एसपी श्याम ज्ञवालीलाई पेसीम काठमाडौं झिकाएका हुन् ।
मन्त्री निधीले भेट्न बोलाएको भन्दै शर्मा मंगलबार दुवै एसपीलाई लिएर गृहमन्त्रालय पुगेका थिए तर भेट भएन । डेढ घण्टा कुर्दासमेत निधी नआएपछि उनीहरुले गृहसचिव लोकदर्शन रेग्मीलाई भेटेका थिए । शर्मा र दुवै एसपीसँग रेग्मीले करिब एक घन्टा कुराकानी क्रममा पेसीमा झिकाउनुको कारणमा प्रवेशै नगरी जिल्लाको शािन्त सुरक्षाबारे छलफल गरेका थिए । गृहसचिवले शान्ति सुरक्षा र दुवै घटनाबारे जानकारी मागे पनि उनीहरुलाई पेसी बोलाएको बारे भने मुख खोलेनन् स्रोतले भन्यो ‘जिल्लाको शान्ति सुरक्षाबारे सोधपुछ गर्दै चिया खुवाएर पठाउनुभयो ।’
सिराहामा माओवादी केन्द्रका नेता तथा पूर्वशान्तिमन्त्री विश्वनाथ प्रसाद साहसहित १० जना माओवादी नेतामाथि सरकारी कर्मचारीको अपहरण गरी जबर्जस्ती कागज गराएको जेहरी दर्ता रहेपनि माओवादी केन्द्रका नेता पक्राउ परेका छैनन् । पर्सामा हुन्डी कारोबारीको अभियोग अनुसन्धानमा व्यापारी सन्तोष जैनको परिवार नै प्रहरी हिरासतमा छ । स्रोतका अनुसार अपहरण आरोप लागेका माओवादी केन्द्रका नेताविरुद्ध सिरहामा जारी अनुसन्धान र हुन्डीको कारोबारमा पर्सा प्रहरीले पक्राउ गरेका नेपाली काँग्रेस निकट व्यापारीमाथि कारवाही रोक्न दुवै एसपीमाथि दबाब बढेको थियो । उनीहरुले जोहरी दर्ता भइसकेको विषय भन्दै अनुसन्धान रोक्न मानेका थिएनन् । दुवै एसपीले अस्वीकार गरेपछि गृहमन्त्री निधीले नै चासो राखेका थिए । स्रोतका अनुसार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल हुँदा नै दुवै एसपीलाइ काठमाडौं बोलाएर प्रष्टिकरण लिने प्रयास भएको थियो ।

अर्यालले उनको निर्देशन अटेर गरेका थिए । उनी प्रहरी प्रमुखको सम्मेलनमा भाग लिन शुक्रबार अमेरिका गएपछि निमित्त प्रहरी प्रमुख शर्मामार्फत दुर्व एसपीलाई काठमाडौं झिकाइएको थियो ।स्रोतका अनुसार निधीले शर्मालाई एसपीलाई काठमाडौं झिकाउन हुन्छ कि हुन्न भनेर सोधेका थिए । शर्माले भइहाल्छ भनेपछि आइतबार दुवैलाई पेसीमा काठमाडौं आउन निर्देशन दिइएको थियो । श्रेष्ठ सोमबार काठमाडौं आइपुगेका हुन् । गृहमन्त्री निधीले आफूले कुनै एसपीलाई पनि नबोलाएको दाबी गरे ।
विवादमा घेरिदै निधी

आफ्नै दाजुलाई भदौ ११ मा मरणासन्न कुटेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिसारतमा रहेका धनुषा कांग्रेसका कार्यकर्ता रामचन्द्र रायलाई छाड्न नमानेको भन्दै धनुषाका एसपी रामदत्त जोशीको सरुवा गरेको विषयमा समेत गृहमन्त्री निधी जोडिएका थिए ।
मधेश आन्दोलनका क्रममा भएका गम्भीर अपराधमा जोडिएकाको समेत मुद्धा फिर्ता लिन खोजेपछि पनि मन्त्री निधी विवादमा तानिएका थिए । प्रहरीले घटना गम्भीर प्रकृतिको रहेको भन्दै रायलाई छाड्न गृहबाट गएको दबाब अस्वीकार गरेपछि दोस्रो दिनमै दत्तको सरुवा भएको थियो । उक्त प्रकरणमा रायलाई पक्राउ गर्ने इलाका प्रहरी कार्यालय फुलगामाका इन्चार्ज सइ धर्मेन्द्र ठाकुरको समेत सरुवा भएको थियो । गहमन्त्रीको अनिच्छाका कारण जाजरकोट सरुवा भइ सकेका डीएसपी भावेश रिमाल जिल्ला जान पाएका छैनन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया