विश्व अर्थतन्त्रमा गरिबीको डरलाग्दो तस्विर
– नन्दलाल खरेल
विश्व अर्थतन्त्र गरिबीको दुश्चक्रमा रुमल्लिरहेको छ । सर्वविदितै छ, आज विश्व अर्थतन्त्र पुँजीवादी राजनीतिक ब्यवस्थाभित्रको सेरोफेरोमा छ । विश्वमा लगभग १५० भन्दा बढी देशहरुमा यहि पुँजीवादी अर्थब्यवस्था कायम छ । तर आर्थिक असमानताको खाडल हेर्ने हो भने डरलाग्दो तथ्यांक हाम्रो सामु देखा परेको छ । विश्वब्यापी गरिबी निवारणमा क्रियाशील संस्था अक्सफाम इन्टरनेशनलको झण्डै एकवर्ष अघिको प्रतिवेदन अनुसार विश्वका ७ अर्ब जनसंख्या भन्दा दोब्बर सम्पत्ति जम्मा एक प्रतिशत धनाढ्यको कब्जामा छ । अक्सफामले घतलाग्दो कुरा के गरेको छ भने वर्तमान विश्व ब्यापी अर्थब्यवस्था अर्थात (पुँजीवादी अर्थब्यवस्था) ले धनाढ्यलाई धन आर्जन गर्न सक्षम बनाएको छ भने करोडौं मानिसको जीवन नरकतुल्य पनि यही ब्यवस्थाले गरेको छ । अब यस ब्यवस्थाको बिकल्प खोज्नु पर्दैन ? भनि प्रश्नवाचक चिन्ह खडा गरेको छ ।
काभिड –१९ को भयले धनीको धन झन भन्दा झन बढेको छ भने गरिबको संख्या उच्च आकारमा बढेको छ । कोरोनालाई नियन्त्रण गर्न लकडाउन नीति अवलम्बन गर्दा अरबौं मानिसहरु रोजगार विहिन भएर गरिबीको सख्या दिन प्रतिदिन बढेको छ । आयका स्रोतहरु पूर्णरुपमा बन्द भएका छन् । जसले गर्दा विकराल अवस्था सिर्जना भएको अर्थशास्त्रीहरु बताउँछन् । यस अघिका कुनै महामारीका बेला पनि अहिलेको जस्तो अवस्था सृजना भएको थिएन । विश्व बैंकका अनुसार कोरोनाको कारण संसारका करिब १० करोड मानिस अत्यन्तै गरिब हुने खतरा बढेको छ ।
अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) मा अनुसन्धानकर्ताका रूपमा कार्यरत स्टिभन क्यापसोस भन्छन्, ‘यसअघिको आर्थिक संकटको तुलनामा वर्तमान संकट बिल्कुलै फरक छ किनभने यो महामारीले सोझै श्रम बजारमा हमला गरेको छ । एकातिर अर्थव्यवस्थाका कैयन क्षेत्रमा काम पूरै बन्द भएको छ, अर्कोतर्फ केही क्षेत्रमा भने यस्तो भएको छैन । आइएलओका अनुसार रिटेल, निर्माण कार्य, उत्पादन, हस्पिटालिटी र खाद्य पदार्थको बजार लकडाउनका बेला लागेको प्रतिबन्धबाट नराम्रोसँग प्रभावित छन् । ‘प्रतिबन्धभन्दा अघि जुन काम मजदुरहरू गरिरहेका हुन्थे, त्यसमा अचानक रोक लागेको छ’ क्यापसोस भन्छन् । आइएलओका अनुसार यो अवधिमा कामका जति घन्टा बर्बाद भएका छन् त्यो ३० करोड फुल टाइम जागिरबराबर थिए ।
अमेरिका र मध्य एसियामा कामका घन्टामा १३ प्रतिशत कमी आएको छ जब कि निम्न र मध्य आय भएका देशमा कामका घन्टामा निकै बढी कमी आएको देखियो । तर, यो महामारीबाट सबैभन्दा नराम्रोसँग ती १.६ अर्ब मजदुर प्रभावित भए, जो अनौपचारिक क्षेत्रमा मजदुरी गर्दै आएका थिए । ३५ वर्षीय लुसिमारा रोडरिग पनि एक मजदुर हुन् । ब्राजिलकी लुसिमोरा १६ बर्षअघि अमेरिका आएकी थिईन् । अहिले उनी बोस्टनका घरहरुमा सफाइको काम गर्छिन । लुसिमोराले बिबिसीलाई बताएअनुसार, उनले केही धनी घरमा काम गरेर महिनाको ३५ सयदेखि चार हजार डलरसम्म कमाउने गर्थिन, तर लकडाउनका कारण काम बन्द भयो । म जस्ता मानिसका लागि यो अप्रत्यासित थियो । यसअघि मैले काम नभई दुई महिनाका लागि कहिल्यै घर बस्नु परेन । लुसिमोराका श्रीमान् निर्माण मजदुर हुन् । लकडाउनका कारण उनको पनि काम बन्द भयो । मेरा केही मालिकले भलो देखाउँदै तलब दिइनै रहे, तर पनि अब एक–एक पैसा जोगाउनुपर्ने अवस्था आएको छ, उनी भन्छिन् ।
आज विश्वमा धनी र गरिब बिचको खाडल बढ्नुमा लोकतान्त्रिक शासन भित्रको पूँजीवादी अर्थव्यवस्था हो । यो असमानताको बढ्दो खाडल पुर्न यो व्यवस्थाबाट संभव छैन किनभने पँुजीवादले खुला व्यापार नीतिको समर्थन गर्दछ । यस नीतिमा जसले जति पनि जसरी पनि कमाउन सक्छ । राज्यले खासै त्यसमा अंकुश लगाउन मिल्दैन । जब निश्चित मान्छेहरु अझै आराम र मोज मस्तिमा वस्छन बाँकी ठूलो हिस्सा गरिबी, वेरोजगारी, भोकै मर्नु पर्ने अवस्था आउँछ । तब थोरै मानिसको हित रक्षाको लागि स्थापना गरिएको यो पुँजीवादी व्यवस्था टिक्दैन अर्थात जनता आफैले यो व्यवस्था फ्याक्नेछन् ।
कोभिड –१९ को कारणबाट मात्रै मानिसहरु गरिब भएका होइन । कोभिड १९ भन्दा पनि अगाडि गरिब र धनी बिचको असमानता पनि उच्चै रहेको थियो । अक्सफामको रिर्पोट अनुसार कुनै ब्यक्तिले प्रत्येक दिन १० हजार अमेरिकी डलरका दरले बचत गर्ने हो भने ५ जना अति धनाढ्य ब्यक्तिहरु भएको औषत सम्पत्तिको ५ भागको १ भाग सम्पत्ति बचत गर्न ५ हजार वर्ष लाग्नेछ । त्यस्तै गरेर विश्वका दुई हजार एक सय ५३ जना अर्वपतिसँग संसारभरिका चार अर्ब ६९ करोड मानिस सँग भएको भन्दा बढी छ ।
अन्तराष्ट्रिय मुद्रा कोषले महामारीको असरबाट माथि उठ्न बनाउने नीतिहरु असमानता अन्त्य गर्नेतर्फ विशेष ध्यान दिनुपर्ने अपिल गरेको छ । विश्वका सरकारहरू आ–आफ्नो अर्थव्यवस्थामा कोरोनाको पीडाबाट उम्किन लाखौं डलर खर्च गरिसकेका छन् । तर, अन्तर्राष्ट्रिय मुद्रा कोषले भने गरिबहरूको सुरक्षाका लागि खास कदम उठाउनुपर्ने आवश्यकतामा जोड दिएको छ । यसका साथै खाद्य सुरक्षाको प्रबन्ध गर्नुपर्ने र मानिसहरूको हातमा पैसा दिनुपर्नेजस्ता काम गर्ने आवश्यकता कोषले औंल्याएको छ । कोरोना संकटको सबैभन्दा बढी असर अनौपचारिक क्षेत्रमा परेको छ । अनौपचारिक श्रम बजारका श्रमिक तथा गरिब मजदुरमा यसको असर परेका कारण अधिकांश दरमा गरिबी बढ्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । १६६ देशमा गरिएको अध्ययनमा सबैभन्दा धेरै सब सहारा अफ्रिकामा २२.६ प्रतिशतले गरिबीमा वृद्धि हुने अनुमान बैंकको छ । यसैगरी, दक्षिण एसियामा १५.६, ल्याटिन र क्यारेबियनमा २.७, मध्यपूर्व र दक्षिण अफ्रिकामा २.८ र पूर्वी एसिया तथा प्यासिफकमा ४.५ प्रशितले गरिबीमा वृद्धि हुने बैंकको सर्वेक्षणले देखाएको छ ।
कोरोना महामारीले मानवीय स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ भने अर्कोतर्फ सबैभन्दा ठूलो असर रोजगारीमा परेको छ । जसको कारण आज गरिब, विपन्न र श्रमिक वर्गहरु भोकको संघर्षसँग युद्ध गरिरहेका छन् भने अर्कोतिर हुनेखाने मानिसहरु पनि आफ्नो ब्यवसाय धरापमा पर्ने चिन्ताले मनोवैज्ञानिक असर पारिरहेको छ । अन्तराष्ट्रिय श्रम संगठनको रिर्पोट अनुसार नेपालको बेरोजगारी दर २ दशमलव ३ प्रतिशत थियो भने अहिले बढेर ६ दशमलव १ प्रतिशत पुगेको छ । अहिले संगठित क्षेत्रमा २२ प्रतिशतले रोजगारी गुमाइरहेका छन् । मुलुकको आर्थिक वृद्धि शुन्य दशमलव एक प्रतिशतको हाराहारीमा हुने सम्भावना छ (नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार अघिल्ला लकडाउनको अवधिमा ६१ प्रतिशत उद्योग पूर्ण रुपमा बन्द भए र साढे २२ प्रतिशत रोजगारी गुमेको देखिएको छ । यस अवधिमा सबैभन्दा धेरै प्रभावित होटल र रेष्टुरा क्षेत्रका उत्पादन ९४ प्रतिशतले घटेको र रोजगारी ४० प्रतिशत गुमेको सो अध्ययनले देखाएको थियो ।
हालै सार्वजनिक भएको संयुक्त राष्ट्र संघको एक प्रतिवेदनले नेपालका २५ लाख ७० हजार व्यक्तिले लकडाउनको अवधिमा रोजगारी गुमाएको र करिब २१ लाख नेपाली पुनः गरिबीमा फसेको जनाएको छ । यस अनुसार, लकडाउनकै कारण करिब ७ प्रतिशत विन्दुले गरिबी बढेको छ । केहि समय पहिले मात्रै अन्तराष्ट्रिय संगठन आइएलओले ३७ लाख नेपालीहरुले रोजगारी गुमाएको जनाएको थियो । यस्तो अवस्थामा सरकारले राखेको २०२२ र २०३० मा हासिल गर्ने लक्ष्यहरु माथि संकट पर्ने देखिन्छ ।
अन्त्यमा कोभिड १९ ले विश्व अर्थतन्त्रमा त्यसमा पनि गरिबहरुमा संकट थोपरेको छ । विश्वका धेरै वर्षसम्म पहिलो धनीको सूचीमा नाम दर्ज गराएका र अहिले दोस्रो सूचीमा रहेका विल गेट्सले भनेका छन्, ‘गरिब भएर जन्मिनु तिम्रो दोष होइन तर गरिब भएर मर्नु तिम्रो दोष हो ।’ आज विश्वमा धेरै मानिसहरु जन्मदा गरिब थिए तर मर्दा पनि गरिब भएरै मरिरहेका छन् । यसो हुनुको प्रमुख कारण धनी मानिसहरु नै राज्यको सत्ता संचालन तहमा पुग्नु र यिनीहरुले नै मुलुकको स्रोत साधन विनियोजन र उपयोग सम्बन्धी नीति निर्माण आफ्नो हित अनुकुल हुने गरी लागू गर्दा यो समस्या आएको हो । त्यही भएर दार्शनिक भोल्तेयरले भनेका थिए, ‘यो सत्य हो की स्वतन्त्रताले तिम्रो पेट भर्न सक्दैन, न त लोकतन्त्रको उर्जाबाट तिम्रो कलकारखाना चल्न सक्छ । तर संगसँगै निरङ्कुशताको कालकोठरीमा हुने राजनीतिक बन्दिले बत्ती बाल्न सक्दैन ।’ यो भनाई विश्वकै गरिब जनताहरुको सन्दर्भमा बढी सान्दर्भिक हुन आउँछ ।
खरेल अर्थराजनीतिक विश्लेषक हुन् ।
प्रकासित मिति २०७७–६–८
फेसबुकबाट तपाईको प्रतिक्रिया