वैकल्पिक ऊर्जाप्रति सर्वसाधारणको आर्कषण बढ्दै

कञ्चनपुर २३ अशोज
कञ्चनपुर जिल्लामा सौर्यऊर्जा, गोबर ग्यास र सुधारिएको चुलोप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। बेला बेलामा विद्युत् भार कटौती हुने र खाना पकाउने ग्यास अभावबाट छुटकारा पाउन वैकल्पिक ऊर्जाप्रति सर्वसाधारणको आर्कषण बढ्दै गएको हो। सरकारी अनुदान र गैरसरकारी क्षेत्रबाट सहयोग पाएपछि कञ्चनपुरमा सुधारिएको चुलो र गोबर ग्यास तथा सौर्यऊर्जा जडान गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको जिल्ला विकास समितिको वैकल्पिक ऊर्जा तथा वातावरण एकाइका अधिकृत दिनेश लम्सालले बताए।
“परम्परागत चुलोको भन्दा सुधारिएको चुलोमा कम दाउरा खपत हुने, धुँवाबाट बच्न सकिने र गोबर ग्यास प्रगोग गर्दा दाउराको बचत हुने भएकाले सुधारिएको चुलो तथा गोबर ग्यास प्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ” उनले भने। उज्यालोका लागि ग्रामीण भेगमा मात्र नभई पछिल्लो समय सहरी क्षेत्रमा समेत सौर्य ऊर्जाको माग अत्यधिक बढ्दै गइरहेको एभरेस्ट इनर्जी सोलुसन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र साउदले बताए। कञ्चनपुरमा अहिलेसम्म १५ हजार ५०० बायोग्यास प्लान्ट, १४ हजार सुधारिएको चुलो निर्माणका साथै संस्थागत सौर्य विद्युत् प्रणालीअन्तर्गत साना ठूला गरी एक हजार ३ सय सौर्य ऊर्जा जडान गरिएको वैकल्पिक ऊर्जा तथा वातावरण एकाइ कार्यालय कञ्चनपुरको तथ्याङ्कमा छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया