शिष्टताबिहीन भेटले ओली राष्ट्रवादको ब्यारोमिटर धरापमा
नन्दलाल खरेल
भारतीय गुप्तचर संस्था ‘रअ’ (रिसर्च एण्ड एनालाइसिस विङ्) का प्रमुख सामान्त कुमार गोयलको नेपाल भ्रमण र प्रधानमन्त्री निवासमा आफ्नो राजकीय हैसियत बिर्सदै जे जसरी भेटवार्ता गरेका छन् त्यसले ओलीको राष्ट्रवादको ब्यारोमिटर धरापमा परेको सहज अनुमान गर्न सकिन्छ । प्रधानमन्त्रीले जोड दिने गरेको ‘राष्ट्रवाद’ को एजेन्डा यो प्रकरणले धुलीसाप भएको छ । त्यतिमात्र होइन दुई सार्वभौम मुलुकबीच हुनुपर्ने कुटनीतिक संस्कार पनि फेरि विथोलिएको छ । दुई तिहाई नजिकको बलियो कम्युनिष्ट सरकारका प्रमुख प्रधानमन्त्रीले आफ्नो हैसियत विर्सेर रहस्यात्मक ढंगबाट जुन ‘रअ’ प्रमुख सँग वार्ता गरे त्यो वास्तवमा नेपालको कुटनीतिक इतिहासमा यो एउटा अन्त्यन्तै लज्जास्पद घटना हो । यो भ्रमणले मुलुकमा फेरि सशक्त द्वन्दकाल, शान्ति प्रक्रिया र संविधान निर्माणका संक्रमणकालीन समयमा झै ‘रअ’ का अधिकारीहरुको चलखेल, चासो, हस्तक्षेप बढ्ने त होइन भनि संदेह गर्ने प्रशस्त ठाउँ उब्जेको छ ।
नीति, सिद्धान्त र पद्धतिको पटक पटक पाठ सिकाउने प्रधानमन्त्री ओलीले एक्कासी राष्ट्रवादको उत्कर्षलाई यू टर्न गर्दै प्रोटोकल र मर्यादालाई समेत धुलीसाप गर्दै ‘रअ’ का प्रमुखसँग कुनै कुटनीतिक तयारी बिना नै रहस्यात्मक ढंगबाट भेटे । ‘रअ’ का प्रमुख सामान्तकुमार गोयल सँग भेट्नै पर्ने भूराजनीतिक आवश्यकता किन प¥यो ? गोयल मर्यादाभित्र कुन हैसियतमा देखिन्छन ? बालुवाटार देखि संसदसम आक्रमक अभिब्यक्ति दिंदै आएका ओलीको बाटो अहिले किन पुरै मोडिएको छ ? के प्रधानमन्त्रीले भारत–नेपाल बिचको सम्बन्धलाई न्यानोपन दिई सत्ता लम्ब्याउने कोशिष गरेका त होइनन् ? यी सबै प्रश्नहरुको उत्तर रहस्यको गर्भमा छ ।
झण्डै दुई साता अघि भएको सामन्त कुमार गोयलको दुई दिने नेपाल भ्रमण सकेर दिल्ली फर्केपछि नेपाली राजनीतिमा हलचल मच्चिएको छ । चार महिनाको लामो अन्तराल पछि युद्धबिराम भएको पार्टी भित्रको विवाद फेरि उत्कर्षमा पुग्ने देखिएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग भेट्नुले देशको राष्ट्रिय स्वाभिमानमा कमजोर पारेको बताएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्री ओलीको यस भेटमा पार्टीमा पूर्व जानकारी नभएको, छलफल नगरेको र पार्टीमा हुने जानकारी समेत छैन ।’ प्रवक्ता नारायणकाजी श्रेष्ठले थप बताएका छन् -प्रधानमन्त्रीले कुनै विदेशी गुप्तचर संस्थाका प्रमुखसँग समकक्षीझै भेटेको नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा यस प्रकृतिको परिघट्ना पहिलो भएको उल्लेख समेत गरे । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र कार्यकारी अध्यक्ष प्रचण्डले समेत यो भेटघाटप्रति असन्तुष्टि जनाएका छन् । २३ दलिय मोर्चाले समेत यो भेटघाटको विरोध गरेका छन् । उनीहरुको संयुक्त अपिल सार्वजनिक गर्दै ‘रअ’ प्रमुख गोयलले कुटनीतिक पदाधिकारीसँग भेट नगर्नु र गुप्तचर निकायसँग नेपालले एकदमै अपर्झट कुरा गर्नु पर्ने विषय के थियो भन्ने प्रश्न सोधेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँगे्रसका प्रवक्ता विश्वप्रकाश शर्माले बक्तब्य दिएर यो घटनाको खिल्लि उडाइ दिएका छन् । प्रधानमन्त्री ओलीले भने विगतमा पनि यस्ता भेटघाटहरु हुने गरेका भन्दै यसलाई आपत्तीजनक रुपमा लिइन नहुने बताएका छन् ।
नक्सा प्रकरणमा हिजो ओलीले दिएका अभिब्यक्तिहरु आफूलाई राष्ट्रवादी नेताको रुपमा उभ्याउन र सत्ता लम्ब्याउन चालिएका थिए भन्ने प्रष्ट देखिन आएको छ । तर उनको राष्ट्रवाद आज नक्कली राष्ट्रवादको रुपमा रहेको छर्लङ्ग हुन आउँछ । ५ जेठमा मन्त्रीपरिषद बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको वास्तविक सीमासहितको राजनीतिक र प्रशासनिक नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो । त्यसको भोलीपल्ट संसदको प्रतिनिधिसभामा बोल्दै आलीले भारतको प्रतिक चिह्नलाई इंगित गरेर तिखो प्रहार गरेका थिए । भारत भनेर चिनिने उसको एउटा प्रतिक चिह्न छ । चारमुखे सिंह छ । त्यसको मुनि सत्यमेव जयते लेखेको छ । यो कुरा उसको चिह्नमुनि छ तर विश्वासचाहिं म गर्छु । म भारतलाई सोध्नेवाला छु, सत्यमेव जयते कि सिंह जयते ? सिंहमेव जयते र सत्यमेव जयते ? त्यसकारण हामी विश्वास गर्छौं सत्य मेव जयते उनको भनाई थियो ।
नक्सा प्रकरणमा ओलीले कहिले भारत हाम्रो सरकार ढाल्न सक्रिय छ भने कहिले रामको जन्मभूमि ठोरीमा भएको भन्ने विवादास्पद अभिब्यक्ति दिए । विभिन्न सिलसिला पार गर्दै असोजको पहिलो सातासम्म आइपुग्दा नेपाल सरकार, शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वध्याय सामग्री’ नामक पुस्तक वितरण नगर्नु भनेर ठाडो आदेश नै दिए । यसले के पुष्टि गर्छ भने ओली मोदीसँग लत्रक्क परेका छन् । हुँदा हुँदा उनी अब खुफिया माध्यमबाट आफूले बिगारेको सम्बन्धलाई पुनः मजबुत बनाउन चाहेका छन् ।
एक राष्ट्रिय दैनिकमा प्रकाशित शब्दहरुलाई सापटी लिई भन्नु पर्दा गोयल भ्रमणमार्फत भारतले प्रस्ट रुपमा नेपाली नेतृत्वको हैसियत सम्झाउन चाहेको सार्वजनिक सन्देश दिएको देखिन्छ । अब नेपालले आफ्नो हैसियत आफैले कत्रो तोक्ने त्यो हाम्रो राजनीतिक नेतृत्वको विवेकमा भर पर्छ । मुलुकको उच्च नेतृत्वले विदेशीलाई जुन भूमिका प्रदान गर्छ राष्ट्रको हैसियत पनि त्यसै अनुसार निर्धारण हुन्छ । यो तथ्यको हेक्का सम्बन्धित सबैले सधैं राख्नुपर्छ । प्रधानमन्त्रीको सचिवालयले यसलाई शिष्टाचार भेट भने पनि वास्तवमा समय, परिस्थिति र सन्दर्भको आलोकमा हेर्दा यो शिष्टताविहीन भेट हो । यस्तो सम्बन्धले नेपाली कुटनीतिलाई कुनै उज्यालो गोरेटोमा डो¥याउँदैन, बरु आम नेपालको आत्मविश्वार र मनोबललाई गिराइदिन्छ र भोलिको नेतृत्वको बाटो पनि बिटुलो बनाइदिन्छ ।
वरिष्ठ पत्रकार किशोर नेपालका शब्द लाई समेत सापटी लिदै भन्नु पर्दा प्रधानमन्त्री ओलीसँग भारतको रिसर्च एण्ड एनालाइसिस विङका प्रमुख गोयालसँग तीन घण्टा लामो वार्ता के विषयमा भयो, त्यसको जानकारी सरकार बनाउने नेपाल कम्युनिष्ट पार्टीका नेतागण कसैलाई थाहा छैन भने निरीह कोटिमा परेका जनताले थाहा पाउने कुरा पनि भएन । गोयल एक्लै आएका थिएनन् । उनीसँग उनका दस जना सहयोगी थिए, जसले प्रधानमन्त्री ओली र गोयलको वार्ता सुमधुर र सफल बनाउन निकै ठूलो भूमिका निर्वाह गरे होलान् । काठमाडौंमा गोयलको उपस्थितिको समयमा भारतीय राजदूत क्वात्रा काठमाडौंमा नहरनु त्यति सजिलो प्रसँँग लाग्दैन । यो तथ्यले ओली–गोयल वार्ताको नाटकीय परिवेशलाई आफैं स्पष्ट गर्छ ।
हिजो चिनको उक्साहटमा नेपालले चुच्चे नक्सा जारी गरेको आरोप लगाउने सेनाध्यक्ष मनोजकुमार नरभणे कार्तिक २० मा काठमाडौं आउँदै छन् । उनलाई नेपाली सेनाको मानार्थ महारथीको रुपमा विद्या भण्डारीले भब्य सुशोभित गर्ने छिन् । नेपाल सरकारका प्रमुखमाथि समेत संगीन आरोप लगाउने भारतीय सेनाध्यक्ष नरभणेलाई ओलीकै नेतृत्वको सरकारले मानार्थ महारथीबाट सुशोभित गर्नुलाई भने आश्चार्यको रुपमा हेरिएको छ । यसले के देखाउँछ भने नेपालले भारतसँग राजनीतिक र कुटनीतिक वार्ताबाट भन्दा पनि खुफिया र सेनाका माध्यमबाट बिगे्रको सम्बन्धमा सुधार गर्ने देखिन्छ । भारत नेपालभन्दा जनसंख्या, क्षेत्रफल, विकास र सामरिक हिसाबले कयौं गुणा ठूलो छ तर सार्वभौमिकताका हिसाबले दुवै देश समान छन् । सार्वभौमिकता सानो वा ठूलो भन्ने हुँदैन । तसर्थ भारत–नेपाल बिचको सम्बन्ध खुफिया र सेनाको माध्यमबाट होइन कुटनीतिक र राजनीतिक आधारमा गर्नु पर्छ । यो दिशामा राष्ट्रवादको ढोङ पिट्ने हाम्रा प्रधानमन्त्रीले खुट्टा कमाउनु हुँदैन । देशको स्वाभिमानलाई उचो राखेर देशको शासन सत्ता चलाउनु पर्छ । नत्र जिवनको उत्तरार्धमा नेपाली जनताको सत्तोसराप खानु पर्ने शिवाय केहि हुँदैन । त्यतिमात्र होइन जिवनको लामो समयको राजनीतिक जिवन धुलीसाप हुन केहि बेर लाग्दैन । यसलाई प्रधानमन्त्री ओलीले हेक्का राख्न जरुरी छ ।
प्रकासित मिति २०७७–७–२०
फेसबुकबाट तपाईको प्रतिक्रिया