श्रीमान् श्रीमतीको विवादपछि आगो लगाउँदा घर जलेर नष्ट

काठमाडौँ १३ पुस

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ ।राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन (लिम्बू) को घर जलेर पूर्णरुपमा नष्ट भएको हो । स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको गाउँलेको अनुमान छ ।

राति घरायसी विषयमा श्रीमान् र श्रीमतीबीच सामान्य विवादपछि श्रीमान् दिलबहादुरले घरमा आगो सल्काएको बराइलीले बताएका छन् । आगलागी हुनासाथ स्थानीयले नियन्त्रणको प्रयास गरेपनि समयमा नियन्त्रण नहुँदा घर पूर्णरुपमा जलेको बताइएको छ ।आगलागी भएको दुई घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो । आगलागी पीडित परिवार भने छिमेकीको शरण लिएर बसेको बताइएको छ ।यता प्रहरीले भने घटनाका विषयमा बिहानमात्र जानकारी भएकाले त्यसतर्फ अहिले प्रहरी पठाइएको र घटनाका सम्बन्धमा थप बुझ्ने जनाएको छ ।  रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया