संयुक्त युवा विद्यार्थीद्वारा आन्दोलनको घोषणा

काठमाडौं २४ मंिसर

विपक्षी दल निकटका संयुक्त युवा तथा विद्यार्थी संगठनले संविधान संशोधन प्रस्तावको विरोधमा थप आन्दोलन घोषणा गरेका छन्।  संसद्का संशोधन प्रस्ताव दर्ता लगत्तै आन्दोलित भएका उनीहरुले युवा सङ्घ नेपालको कार्यालयमा पत्रकारसम्मेलन गरी थप आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले प्रस्तावको विरोधमा शुक्रबारदेखि सोमबारसम्म विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।  अनेरास्ववियुका अध्यक्ष नविना लामाका अनुसार शुक्रबार नयाँ बानेश्वरमा खेलाडीको प्रदर्शन, शनिबार वैदेशिक हस्तक्षेप रोक्नका लागि परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, आइतबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म दौड जुलुस र सोमबार संशोधनका विपक्षमा सडक बहस गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ।

उनले संशोधनले देश विघटन गराउने भएकाले नेपाललाई एउटै स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आन्दोलन गर्नु परेको बताए।  युवा सङ्घका अध्यक्ष राजीव पहारीले संशोधन विधेयकले नेपालको राष्ट्रिय अखण्डतामाथि आँच आउने भएकोले राष्ट्र बचाउनका लागि आन्दोलन गर्नु परेको बताए। उनले विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी राखिने जानकारी गराए।  पत्रकारसम्मेलनमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष निरज लबजुले संशोधनले मुलुकको स्थापित सामाजिक सद्भावलाई बिथोल्ने भएकाले प्रस्ताव फिर्ता लिनुपर्ने बताए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया