सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी


काठमाडौँ २२ माघ २०८१ । अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी गरिएको छ । अष्ट्रेलिया नेपाल न्यूजको ११औँ वार्षिकोत्सवका अवसरमा मनघरी फाउन्डेसनले फोटोग्राफर भरतबन्धु थापाले खिचेको तस्बिर प्रदर्शनी गरेको हो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा नेपालको सातै प्रदेश समेटिने २२ तस्बिर राखिएका थिए । सो अवसरमा राजदूत यादवले नेपालको विकासका लागि पर्यटन प्रवद्र्धनमा जोड दिन यस्तो तस्बिर प्रदर्शनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

उनले विदेशमा रहेका सबैले नेपालको प्रवद्र्धनमा जोड दिनुपर्ने जनाउदै विदेशमा रहेका नेपालीहरूलाई समय मिलाएर पटक–पटक सपरिवार नेपाल घुम्न पनि जोड दिएकी थिइन् ।
न्यू साउथ वेल्स (एनएसडब्लु)का वाणिज्यदूत सञ्जीव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर थापाप्रति आभार व्यक्त गरे । उनले आफ्नो कार्यकालमा नेपालको पर्यटन प्रवद्र्धनमा विशेष जोड दिने बताए ।
त्यस अवसरमा राजदूत यादव र वाणिज्यदूत शर्मालाई फोटोग्राफर थापाले नेपाल झल्कने किताबसमेत प्रदान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया