सिन्धुपल्चोल्कमा अर्को बिपत : भोटेकोशीको बाढीले दर्जनौं घर बगायो

सिन्धुपाल्चोक २४ असार ।

एकपछि अर्को बिपत झेलेको सिन्धुपल्चोल्कले भोटेकोशीमा अकस्मात आएको बाढी र विभिन्न ठाउँमा गएको पहिरोले जिल्लाबासीमा अर्को विपत आइलागेको छ । सिन्धुपल्चोल्क जिल्ला प्रशासन कार्यालयका अनुसार भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा अहिलेसम्म २५ वटा घरमा क्षति पुर्‍याइसकेको छ । बाह्रबिसेभन्दा माथिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले जानकारी दिए ।

अझै पनि भोटेकोशीमा बाढी बढ्ने र घट्नेक्रम चलिरहेकाले थप क्षति पुर्‍याउन सक्ने भन्दै सर्वसाधारणका लागि पूर्वसुरक्षा अपनाउन भनिएको प्रजिअ दुवाडीले बताए । नेपाली सेनाको सहयोगमा जिल्ला प्रशासन कार्यालयले बाढीबाट उच्च जोखिममा रहेका तातोपानी गाविसको भ्यानपार्क भन्ने ठाउँबाट ५८ जनालाई उद्धार गरेको छ ।

‘सेनाको हेलीकोप्टर मगाएर भ्यानपार्कका ५८ जनालाई उद्धार गरेर बाह्रबिसेमा ल्याएका छौँ, त्यसमध्ये ४४ जनाले काठमाडौँ जान चाहेकाले गाडी चढाएर पठायौँ, प्रमुख जिल्ला अधिकारी दुवाडीले भने । उद्धार गएर ल्याइएको बाँकीलाई बाह्रबिसेमा स्थानीयवासीको सहयोगमा राखिएको छ । बाढीले धेरै ठूलो भौतिक क्षति पुर्‍याए पनि अहिलेसम्म कुनै मानवीय क्षतिको जानकारी नआएको प्रमुख जिल्ला अधिकारीले बताए । केही दिनदेखिको बाढीले अहिलेसम्म एउटा झोलुंगे पुल र एउटा गाडी गुड्ने बेलिब्रीज पुलसमेत बगाइसकेको छ ।

बाढीबाट माथिल्लो भोटेकोशीको ड्याममा समेत क्षति पुगेको छ । ठाउँ-ठाउँमा बिजुलीको पोल बगाएको प्रमुख जिल्ला अधिकारी दुवाडीले बताए । अहिलेसम्मको अवस्थामा बाह्रबिसेबाट ५ किलोमिटरमाथि जम्बु भन्ने ठाउँसम्म जान सकिन्छ । तर, त्यसभन्दा माथिको सडक पूर्ण रुपमा कटान भएको छ । जसले गर्दा जिल्लाबासीको लाइफलाइनमा ठूलो असर पुर्‍याएको छ ।

मानवीय क्षति नभए पनि बाढीका कारण ठूलो भैतिक क्षति भएको छ । केही कुखुरा फार्महरु नदीले बगाएको छ । बाढीले एउटा प्लाइ उद्योग, तारजाली बुन्ने उद्योग र ब्लक निर्माण उद्योगलाई समेत डुबाएको छ । भूकम्पमा बचेका कैयौं घर बाढीपछि गएको पहिरोमा परी भत्किएका छन् । कैयौं घरहरु भीरमा धराप बनेर अल्झिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया