माधव घिमिरे ‘अटल’
काठमाडौं, १८ चैत २०८०
नागार्जुन वाङ्मय प्रतिष्ठानको मासिक सुप्रभात काव्य गोष्ठी यही चैत १७ गते राजधानीको बागबजारस्थित इजी वे सहकारीको हलमा सुसम्पन्न भएको छ ।
गोष्ठीमा करिब डेढ दर्जन सर्जकहरूले आआफ्ना रचना सुनाएका थिए । ती सिर्जनाहरूको त्रिवि केन्द्रीय नेपाली विभागकी सह-प्राध्यापक तथा चर्चित साहित्यकार डा. रजनी ढकालले साङ्गोपाङ्ग शल्यक्रिया गरेकी थिइन् । उनले हरेक रचनामाथि टिप्पणी गर्दै कविले लेखेको कवितामाथि ऊ आफैँले कोण-प्रतिकोणबाट समीक्षा गरिरहेको हुनाले समालोचकको समालोचना जरूरी नहुने बताइन् । कवितामा मानवीय संवेदना, प्रकृति र वर्तमान विकृत र विसङ्गत अवस्थालाई व्यङ्ग्य प्रहार आएकामा उनले सन्तोष व्यक्त गरिन् । कविता हृदयको वाणी भएको जिकिर गर्दै हरेक रचना प्रज्ञाभन्दा निकै माथि हुने उनको निष्कर्ष थियो । कार्यक्रममा अध्यक्ष दिल पौडेलले नागार्जुन वाङ्मय प्रतिष्ठानका उकाली-ओराली र ऊहापोहबारे मन्तव्य राखेका थिए ।
कार्यक्रममा पार्वती भट्ट, अर्पणा खड्का, शिवहरि पाण्डे, गङ्गाप्रसाद भेटवाल, गङ्गा खतिवडा, सुशीला शर्मा, लक्ष्मणदेव पाण्डे, दिल पौडेल,बलराम विष्ट, नवीन पल्लव, माधव घिमिरे ‘अटल’, मिना देवकोटा, मीरा ढकाल, युवराज नास्तिकले आआफ्ना सिर्जना वाचन गरेका थिए भने आख्यानकार केशव घिमिरे तथा पत्रकार सुशान्त न्यौपानेले रचनाको रसास्वादन गरेका थिए ।
युवराज नास्तिकले सहजीकरण गरेको सो कार्यक्रमको समापन अध्यक्ष दिल पौडेलले गरेका थिए । उनले नागार्जुन वाङ्मय प्रतिष्ठानले निकट भविष्यमा विशेषाङ्क प्रकाशन गर्न लागेको सविनय अवगत गराउँदै आगामी कार्यक्रम आगामी वैशाख १५ गते, नयाँ वर्ष २०८१ को तेस्रो शनिवार हुने अवगत गराए ।