सूचनाको हक विषय पढाइने

काठमाडौँ १४ पौष ।

सरकारले आगामी शैक्षिक सत्रदेखि सूचनाको हकसम्बन्धी नयाँ पाठ्यक्रम पढाइने भएको छ ।

राष्ट्रिय सूचना आयोगको पहलमा तयार गरिएको पाठ्यक्रमसहित ऐेच्छिक विषयका रुपमा आगामी शैक्षिक सत्रदेखि मुलुकभर कक्षा ६ देखि उक्त पाठ्यक्रम पढाउन लागिएको हो ।

आयोगका आयुक्त यशोदा तिमिन्सिनाका अनुसार अगामी शैक्षिक सत्रदेखि पढाई हुने सूचनाको हक विषय पढ्ने विद्यार्थीलाई छात्रवृद्धि दिने तयारी आयोगले गरेको छ ।

सामुदायिक रेडियो प्रसारक सङ्घ(एकोर्याव)ले आयोजना गरेको गोष्ठीमा उनले सबैलाई सूचनाको पहुँच भएपछि नागरिक आर्थिक तथा अन्य तवरले  सबल हुने बताउँदै त्यसका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

गोष्ठीमा नागरिक राष्ट्रिय दैनिकका सम्पादक गुणराज लुईंटेलले सार्वजनिक वित्तका विषयका सकारात्मक समाचारलाई प्राथमिकता दिँदा समाजको सशक्तीकरणमा ध्यान दिनुपर्ने बताए ।

अर्थशास्त्री गोपाल तिवारीले वित्तीय अनुशासनलाई कायम राख्दै आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिँदै त्यसका लागि सञ्चार माध्यमको समाचार कक्षलाई सबल बनाउनुपर्नेमा जोड दिए ।

एकोर्यावका कार्यकारी निर्देशक डा आरसी लामिछाने पत्रकारले उठाएका विषयले आर्थिक एवम् सामाजिक विकासमा सहयोग पुग्ने भएकाले पत्रकारलाई सक्षम बनाउनुपर्ने बताए ।

गोष्ठीमा ३० जनाभन्दा बढी आर्थिक एवम् सामाजिक क्षेत्रमा समाचार लेख्दै आएका पत्रकारको सहभागीता थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया