स्पेनको बेरोजगारी दर घट्यो

म्याड्रिड (स्पेन) २४ चैत ।
सन् २०१७ को मार्च महीनामा स्पेनको बेरोजगारी दरमा कमी आएको एक तथ्याङ्कले देखाएको छ । सो अवधिमा बेरोजगार मानिसको सङ्ख्या फेब्रुअरीको तुलनामा ४८ हजार ५ सय ५९ ले घटेको सामाजिक सुरक्षा तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । यो कमीसँगै मार्चमा रोजगारीविहीनको कुल सङ्ख्या ३७ लाखमा आएको बताइएको छ । गत महीना पुरुष बेरोजगारको सङ्ख्या फेब्रुअरीको तुलनामा ३१ हजार १६ ले घटेको र महिला बेरोजगारको सङ्ख्यामा १७ हजार ५ सय ४३ ले कमी आएको मन्त्रालयले बताएको छ । त्यस्तै क्षेत्रीय हिसाबले मार्चमा सेवाक्षेत्रको बेरोजगारी ३९ हजार ९ सय ३३ ले घटेको तथ्याङ्क छ । निर्माण तथा औद्योगिक क्षेत्रको बेरोजगारी दर क्रमशः ८ हजार ८ सय ३० र ५ हजार ६ सय ५९ ले घटेको छ । उता कृषिक्षेत्रको बेरोजगारीदर भने १ हजार ३ सय ८२ को सङ्ख्यामा वृद्घि भएको मन्त्रालयले बताएको छ । वित्तीय सङ्कटको चरम चपेटामा आएको स्पेनमा मन्दीको समयमा बेरोजगारीको दर उच्च थियो । सन् २०१३ मा बेरोजगार मानिसको सङ्ख्या ६० लााखभन्दा माथि रहेको तथ्याङ्कले देखाएको छ । रासस/सिन्ह्वा

फेसबुकबाट तपाईको प्रतिक्रिया