स्वदेशी पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि

काठमाण्डौ  १३ चैत्र २०८० ।

मुलुकमा उत्पादन हुने मुख्य पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा जुस, प्लाइउड, आइरन तथा स्टिल उत्पादन, सिमेन्ट, क्लिङ्कर, अदुवा रहेका छन् ।

मुलुकबाट आयात निर्यात दुवै घटिरहेका बेला ती वस्तुको निर्यातमा भने उलेख्य वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा पाँच वस्तुको माग उच्च रहेकाले पनि निर्यातमा वृद्धि भएको हो । केन्द्रको तथ्याङ्क अनुसार आठ महिनामा ती वस्तुको निर्यात २५ अर्ब ४१ करोड ६१ लाख रुपियाँ बराबरको भएको तथ्याङ्कले देखाएको छ । मुलुकबाट अन्य वस्तुको निर्यात घटिरहेको बेला पाँच वस्तुको निर्यातमा भने उल्लेख्य वृद्धि भएको छ ।

केन्द्रको तथ्याङ्क अनुसार आठ महिनामा नेपालबाट सबैभन्दा धेरै आइरन तथा स्टिलका उत्पादन ७४ प्रतिशतले बढेर ११ अर्ब ६३ करोड ९२ लाख रुपियाँ बराबरको निर्यात भएको छ । गत वर्षको सो अवधिमा आइरन तथा स्टिलको निर्यात छ अर्ब ६७ करोड ३० लाख रुपियाँ बराबरको भएको थियो ।

यस्तै आठ महिनामा मुलुकबाट प्लाइउडको निर्यात ९१ प्रतिशतले बढेर चार अर्ब ९३ करोड ९८ लाख ४८ हजार रुपियाँ बराबरको आयात भएको छ ।

गत वर्ष सो अवधिमा दुई अर्ब ५८ करोड १६ लाख रुपियाँ बराबरको निर्यात भएको छ । प्लाइउड छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ । भारतमा प्लाइउडको माग उच्च भएकाले निर्यातमा समेत उल्लेख्य वृद्धि भएको हो । नेपालको प्लाइउड उच्च गुणस्तरको हुने भएकाले नि भारतमा बढी आउने गरेको व्यवसायीको भनाइ छ ।

यस्तै मुलुकबाट जुस निर्यात ३९ प्रतिशतले बढेर पाँच अर्ब ३३ करोड ४१ लाख रुपियाँ बराबरको निर्यात भएको छ । गत वर्ष सो अवधिमा तीन अर्ब ८२ करोड रुपियाँको जुस निर्यात भएको थियो ।

यस्तै आठ महिनामा दुई अर्ब ४७ करोड १७ लाख रुपियाँ बराबरको क्लिङ्कर तथा सिमेन्ट निर्यात भएको छ । गत वर्ष सो अवधिमा १९ करोड ४१ लाख १८ हजार रुपियाँको समेन्ट र क्लिङ्कर निर्यात भएको थियो । मुलुकबाट अदुवाको निर्यात ३९ प्रतिशतले बढेर एक अर्ब ३२ करोड २१ लाख रुपियाँ बराबरको भएको छ । गत वर्ष सो अवधिमा ७३ करोड ७७ लाख रुपियाँ बराबरको निर्यात भएको थियो । नेपालबाट निर्यात हुने अधिकांश सामानहरू छिमेकी मुलुक भारतबाट निर्यात हुने गर्छन् । नेपालमा आयात हुने अधिकांश सामान भारतबाट आयात हुने गर्छन् ।

मुलुकबाट आठ महिनामा कुकुर र बिरालोको आहारमा छुर्पीलगायतको निर्यातमा समेत वृद्धि भएको छ । यस्तै तयारी गार्मेन्टको, चाउचाउ र पास्ताको निर्यातमा समेत सामान्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ । यस्तै दालको निर्यातमा समेत वृद्धि भएको छ । मुलुकमा उत्पादन हुने अन्य वस्तुहरूको निर्यातमा भने कमी आएको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया