हजार बढी आरोही हिमालतिर

काठमाडौँ २२ कार्तिक ।

शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि एक हजार ६९ जनाले आरोहण अनुमति लिएका छन् ।   यो मौसम (असोज र कात्तिक) पर्वतारोहणका लागि उपयुक्त भएकाले उल्लेख्य संख्यामा आरोही पर्वतारोहणका लागि जाने गर्छन् ।   आरोहण अनुमति यो महिनाभर लिने भएकाले आरोहीको संख्या अझै बढ्ने पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।   तुलनात्मक रुपमा यो वर्ष कमैले आरोहण अनुमति लिएका छन् ।

विभागका अनुसार सन् २०१४ मा एक हजार ३८५ जनाले आरोहण अनुमति लिएका थिए । सन् २०१५ मा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) सहित दुई हजार ७२० जनाले आरोहण अनुमति लिएका थिए ।   यो मौसममा सर्वोच्च शिखर सगरमाथाबाहेक मनास्लु, कञ्चनजङ्गा, धौलागिरि अमा दबलाङलगायतका हिमाल तथा पिक आरोहण गर्न आरोही गएका छन् । केही समूहले मनास्लु हिमाल आरोहण गरे पनि आधिकारिक जानकारी नआइसकेको विभागले जनाएको छ ।   वसन्त ऋतुमा ९८ आरोहण दलका एक हजार ३७५ जनाले सगरमाथासहितका हिमाल आरोहण अनुमति लिएका थिए । जसमध्ये २८९ जनाले सगरमाथा आरोहण गरेका थिए । वर्षका सबै चार याम वसन्त, बर्खा, शरद र हिउँद) मा आरोहण हुने गरेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया