३५ बर्ष अघिका तस्बिर र तस्बिर भित्र लुकेको आफ्नै जीवनकथा-२ 

टिका भण्डारी

-३५ बर्ष अघिका यी साथीहरु अहिले कहाँ होलान ?
-गङ्गाजीमा तिनै जना डुब्यौं, ५०-६० फिट गहिरो नदीमा १४-१५ फिट पानी मुनि डेड मिनेटसम्म जीवन खोजि रहयौं, ३ घण्टा पछि होस् खुल्दा आफुलाई संसारकै भाग्यमानी सम्झिएँ, तर ती हामीलाई बचाउने माझीहरुसंग हाम्रो कहिलै भेट भएन।

आज म लेख्दैछु, २०४१ -४२ सालतिरको कुरा।
३ दिन अघि बरिष्ठ साहित्यकार डाक्टर तुलसी भट्टराईले फोन गर्नु भयो। भाईको बनारस संस्मरण लक्षमण गाम्नागे भाई मार्फत पढ्ने मौका मिल्यो, राम्रो लाग्यो, कलम नरोकियोस् है भन्नु भयो। काँसी विद्यापीठबाट पिएचडी गर्नु भएका उहाँले पनि काँसी अध्ययन सम्बन्धमा संस्मरणात्मक पुस्तक लेख्दै हुनुहुँदो रहेछ। सार्है खुशी भएँ। त्यो फोन वार्ताले मलाई यो नियात्रा लेख्न अझ प्रेरित गर्यो।

वि.सं. २०४० सालतिर आई. ए. पढ्ने कुरा आज जस्तो थिएन। झापामा आई.ए./ बि.ए. पढ्ने जम्मा एउटै मात्र मेची क्याम्पस थियो। ‘बिद्या नपाए काँशी जानु, न्याय नपाए गोर्खा जानु’ भन्ने उखान सुन्दै हुर्किएको म उच्च शिक्षा काँशीमै गर्नु पर्ने रहेछ भन्ने लाग्थ्यो। अरु जान्ने बुझ्नेहरू समेत आई.ए.को पढाई काठमाडौँमा भन्दा बनारसमा राम्रो हुन्छ भन्थे। नेतादेखि प्रजाका हुने खाने छोराछोरी सबै उतै दौडन्थे। आई. ए. पढ्न पनि उच्च शिक्षा हासिल गर्न बाहिर जाने भन्थे। तर हामी जस्तो बिहान बेलुका हातमुख जोड्न नै गार्हो हुने आर्थिक हैसियतवालाहरुका लागि त्यो कुरा आकासको फल झैं थियो। यद्यपि मेरो सङ्गीत कला र त्यसले सिर्जिएको परिस्थितिले मलाई त्यहाँ पुर्याएरै छोड्यो। सबैको थोरै साथ्, थोरै सहयोग र सदभाव हुँदा मात्रै पनि असम्भव कुरा पनि सम्भव बन्दो रैछ।

नेपाल बाहिर गएर पढ्ने मेरो सपना त्यो दिन पुरा हुँदै थियो, जुन दिन म मेरा आदरणीय गुरु सरोज पाण्डेको पछि पछि बनारसको ४ फिटे चौडा गल्ली बाटो हुर्दुराउँदै दौडीरहेको थिएँ। ब्रम्हाघाटबाट ४० मिनेटको दुरीमा रहेको डीएभी इन्टर कलेज जाँदा बाटोमा खाएको मटका कप चिया र फर्किंदा खाएको जेरी, पुरि, तरकारी, अचार अहिले सम्झँदा पनि मेरो मुख रसाउँछ। म नेपालबाट गएको एउटा नयाँ मान्छे, नयाँ ठाउँ, मेरा लागि सबै नयाँ अनुहार, नयाँ परिवेश, सबै चिज नयाँ नयाँ, पुरानो केहि थिएन, सबै नयाँ आहा ! र वाहा !! यस्तै मनोभावको स्वतस्फुर्त प्रस्फुटन। २० मिनेट जति लगातार हिंड्दा पनि ४ फिटे गल्लीको बाटो सकिएको थिएन। म निसास्सिए झैं भइरहेको थिएँ। सबै गल्लि उस्तै । सबै पसलहरु उस्तै । त्यो गल्लि भित्र २० मिनेट कटाउन निकै हम्मे परेको थियो मलाई। गल्लीको दुवै तिर ५-७ तले पुराना थोत्रा घरहरु, निकै पुरानो धार्मिक, साँस्कृतिक शहर। प्राचिन सम्पदा, अति पुरानो सभ्यता र शिष्टता ।

नेपाली बिद्यार्थीहरु गल्लिमा प्रसस्तै देखिन्थे। ती बिद्यार्थीहरु देख्दा अलि ठुलो स्वास फेर्थें, एकछिन भए पनि नेपालै पुगे जस्तो लाग्थ्यो । परदेशमा नेपाली देख्दा सबै आफ्नै लाग्ने। बल्ल २० मिनेटको गल्लि बाटो टुङ्गियो। निकै ठुलो सास फेरें। खुई खुई गरें। सधैं यो बाटो कसरी हिंड्ने होला भनेर सोचें। गल्लि बाटो टुङ्गिए पछी सरोज दाईले एउटा टेम्पो लिनु भयो। १२-१५ मिनेटमा हामी डीएभी इन्टर कलेज पुग्यौं। त्यो क्षण अशिम खुशीभावमा तरङ्गीत हुँदै थियो मन। म भित्र आवेग, संवेग, र उद्वेग एकसाथ छल्की रहेको थियो। सरोज दाईले नै कलेज भर्ना प्रक्रिया सबै मिलाई दिनु भयो। धेरै ठुलो कलेज, विभिन्न फ्याकल्टी, अधिकांस भारतीयमूलका विद्यार्थीहरू, सयौं साईकल पार्किङ्मा, साईकल त्यहाँको संस्कृति नै रैछ भन्ने बुझें। त्यस बीचमा हामी मुश्किलले १५-२० जना नेपाली बिद्यार्थीहरु देखिन्थ्यौं। ६-७ जना त हामी हालको मेची नगरकै थियौं। हिन्दी, अङ्ग्रेजी, सिबिक्स (नागरिक शास्त्र) मूल बिषय राखेर म आर्ट्समा भर्ना भएँ। अन्य विभिन्न जिल्लाबाट आएका नेपाली साथीहरुसँग पनि त्यहाँ परिचय भयो। हाम्रो ठाउँका सबै साथीहरु त्यसरी नै त्यहाँ आइपुगी सकेका थिए। सबै एकै दिन भर्ना भयौं। सरोज दाई ब्रम्हाघाटमा नेपाली कोचिङ् क्लास सञ्चालन गर्नु हुन्थ्यो। त्यो दिन उहाँको क्लास थियो, मेरो भर्ना प्रक्रिया सकिएपछि मलाई त्यहि बाटो पुन: फर्काउनु भयो। मलाई आफ्नो ब्रम्हाघाट स्थित डेरामा पुर्याएर उहाँ आफ्नो रामघाट स्थित आफ्नो कोचिङ् क्लास जानु भयो।

गुरु सरोज पाण्डे दामोदर भारद्वाज निरौला गुरुकोमा प्राय: आइरहने । त्यहाँ आउँदा कहिले मण्डोलिनको धून सुनौं सुनौं टीका भाई भन्नु हुन्थ्यो, कहिले भ्वाइलिन र गितारको धून त कहिले बाँसुरीका धुनहरु। सार्है सङ्गीत प्रेमी, असल, सहयोगी, भलाद्मी र बौद्धिक व्यक्तित्व उहाँ। म कतै महत्वपूर्ण काममा जानु पर्यो भने उहाँकै हात समाउँथें प्राय। मेरो बाद्यकलाको बारेमा आफ्नो कोचिङ् क्लासमा नेपाली बिद्यार्थीहरुसंग कुरा गर्नु हुँदो रैछ। एकदिनको भेटमा टीका भाईले मेरो कोचिङ् सेन्टरमा जानु पर्छ भन्नु भयो। म राम्रो र सकारात्मक कुरा जे सुकै होस् हुन्छ नै भन्थें, नकारात्मक र आफुलाई नराम्रो लाग्ने कुरा पटक्कै स्विकार गर्दिनथें। मलाई कलेज एडमिसनमा समेत साथ दिनु हुने सरोज दाईले गरेको आग्रह मेरा लागि सोह्रैआना स्वीकार्य थियो। म आफै पनि ४०-५० जना नेपाली बिद्यार्थीहरुलाई एकसाथ भेट्ने भने पछी निकै उत्साही भएको थिएँ। हामी दुबैको चाहना अनुसार सरस्वति पुजाको दिन केहि मनोरञ्जन समेत गर्ने उदेश्यले उहाँको कोचिङ् कक्षामा पुगें। त्यति धेरै नेपाली बिद्यार्थीहरु एकै ठाउँमा देख्दा, भेट्दा म साँच्चिकै खुशी भएँ। ‘बिद्या नपाए काँसी जानु, न्याय नपाए गोर्खा जानु भन्ने उखान मेरो जीवनमा पहिलो पटक चरितार्थ भयो। ती सबै बिद्यार्थीहरुसंग उहाँले डीएभी इन्टर कलेजमा रेगुलर पढ्ने तपाईंहरु जस्तै एकजना बिद्यार्थी, भविष्यको सङ्गीतको तारा भन्दै सबैसंग चिनाउनु भयो। सबैको अफरमा मैंले केहि गीत पनि गाएँ, बाद्य धून सुनाएँ, सबैलाई खुशी तुत्याएँ, एकै छिनमा म सबैको प्यारो भएँ। त्यहीबेला सम्झनास्वरुप एउटा सामुहिक तस्बिर पनि खिच्यौं, जुन तस्बिरले मलाई फ्ल्यासब्याकमा पुग्न निकै ठुलो मद्दत गरिरहेको अनुभूतिमा छु।

मेरो काँसी अध्ययन यात्रा, ३५ बर्ष अघिको सम्झना फेसबुकमा प्रकाशित भएपछि सरोज दाईले पनि त्यो खोजेर पढ्नु भएछ। उहाँले मलाई फोन गरेर त्यसबेलाका सम्झनाहरुलाई अझ ताजा गराइदिनु भयो। उहाँले नेपाल आएपछि पेट्रोलियम उद्योगको क्षेत्रमा धेरै महत्वपुर्ण कार्यहरु गर्नु भएछ। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्ष पनि बन्नु भएको थाहा पाएँ। त्यहाँ हामीलाई धेरै माया गर्ने उहाँकी अर्धांगिनी हाम्री कुमारी भाउजु राष्ट्र बैङ्कबाट अवकास समेत भइ सक्नु भएछ। सरोज दाईसंग फोनमा कुरा हुँदा धेरै खुशी भएँ, स्मृति र विस्मृतिमा एकसाथ उनिन पुगें। जो बनारसमा पढ्दा दामोदर भारद्वाज पछिको मेरो दोस्रो अभिभावक हुनुहुन्थ्यो, मेरो हौसला, प्रेरणा र जीवन आशाकै दियो हुनुहुन्थ्यो ।

हरेक आइतबारको दिन मेरो लागि अरु दिन भन्दा निकै फरक हुन्थ्यो। ५ दिन पढाई, एकदिन आराम, एकदिन घुमाई भन्थ्यौं। प्राय: कलेज बिदाको दिन हामी केहि साथीहरु रमाईलो गर्न निस्कन्थ्यौं। रमाइलो घुमघाम गर्ने साथीहरुको हाम्रो बेग्लै टिम थियो। त्यसको प्रमुख व्यक्तित्व मणी दाई (शिक्षक मणी अर्याल, उहाँको पनि बनारसमा छुट्टै कोचिङ् क्लास् सञ्चालनमा थियो) हुनुहुन्थ्यो। उहाँ आफु भने बिएचयुमा समाज शास्त्रमा एम.ए.गर्दै हुनुहुन्थ्यो। उहाँसंग आफनै गितार थियो। केहि कर्ड्स बजाउनु हुन्थ्यो। म त्यसबेलै गितारमा लिड, रिदम मजाले बजाउँथें। मेन्डोलिन, भ्वाइलिन, बाँसुरी त मेरो प्रिय बाजा नै थियो। सबैसंग तिनै बाद्ययन्त्रहरुले मलाई प्रिय बनाएको थियो। कलेज बिदा हुनासाथ कहिले बिएचयु, कहिले सारनाथ, कहिले राजघाटतिर, कहिले गङ्गाजीमा बोटिङ् गर्न त कहिले गङ्गाजीमै स्विमिङ् गर्न पुग्थ्यौं । कहिले झापा अनारमनीका मेरो अति प्यारो दाई क्षितिजराज प्रसाईंको समूहमा मिसिएर रमाईलो गर्न पुग्थें। आइतबारको छुट्टी यसरी नै बित्थ्यो हाम्रो । जहाँ गए पनि एउटा गितार र बाँसुरी मेरो हातमै। बनारस धार्मिक तथा पर्यटकीय क्षेत्र भएकोले बाजागाजा बोकेर हिंड्दा बेग्लै अनुभूति हुन्थ्यो, निकै रमाइलो पनि लाग्थ्यो। मणी दाई बाहेक हाम्रो घुमन्ते समुहमा बिराटनगरका राकेश र प्रभुराज चौधरी, झापा शनिश्चरेका ज्ञानु भट्टराई, धाईजनका कुमार प्रसाईं, बिराटनगरका मिथुन ब्रो, आदि थियौं। एकजना बाग्लुङ्का साथी पनि थिए, जसको नाम मैंले बिर्सिएँछु (ती साथीहरु माथि तस्बिरमा)।
एक दिन गर्मी महिनाको कुरा हो, ४२-४३ डिग्री तापक्रमका बीच गङ्गाजीमा स्विमिङ् गर्न भनेर हामी केहि साथीहरु गङ्गाजी तर्फ़ लाग्यौं। ज्ञानु, म, स्विमिङ्मा एक्स्पर्ट भैसकेका थियौं। गङ्गाजीमा आफै बोटिङ् गर्दै बीचमा पुगेपछि लुगा खोलेर बोटमा राख्थ्यौं र गङ्गाको ५०-६० फिट गहिरो पानीमा हाम्फा फाल्थ्यौं। डल्फिनहरु हामीलाई चियाए झैं गरेर हाम्रै समिपबाट जान्थे। कसैले हमला नगरेसम्म डल्फिनले केहि गर्दैन भन्ने बिश्वास थियो । डल्फिनसंग डर लाग्दैन थियो। त्यो एक दिन सोचे जस्तो रहेन। हाम्रो जीवनमा फरक स्थिति आयो।

दिनभरी दुईटा गितार, एउटा बाँसुरी बजाउँदै ब्रम्हाघाटदेखि राजघाटसम्म २ किलोमिटर बोटिङ् गर्यौं। बोटिङ् पछि घर आईपुगेर फेरी गङ्गाजी स्विमिङ् गर्न गयौं। २-३ बजेतिर हामी केहि साथीहरु गङ्गा किनारमै स्विमिङ् गर्दै थियौं। ज्ञानु, म र अरु केहि साथीहरु नदि किनारबाट २५-३० फिट पर पुगेका थियौं। झापाबाट भर्खरै आएका हिमाल आफ्ना साथीहरु नदीमा मजाले पौडिरहेको देखेर उनि पनि लुगा फुकालेर नदि छेउमा हाम्फाले। छिटो छिटो हात खुट्टा चलाउँदै २० फिट जति पर पुगे। हामीले सोच्यौं उनि राम्रै पौडिन्छन्। उनको पौडाई कमजोर देखेपछि परबाट तिमी अगाडी नआउ धेरै गहिरो छ भन्यौं। तर हामीले भन्दा भन्दै उनि २५-३० फिट पर आइपुगी हाले। त्यो बेलासम्म उनि थाकिसकेका थिए। उनि आत्तिएर मुखबाट पानी फ्याँक्न थाले। म छिटो छिटो डाइफ़ मार्दै उनि भएर तिर गएँ। उनलाई बचाउन हात दिएँ। उनले अत्तालिएर मेरो दुवै हात समाती दिए। एक छिन उनलाई तान्न खोजें। उनि झन् झन् जोडले मेरो दुवै हात समाउन थाले। अब म पनि अत्तालिएर पानी खान थालें। दुवै जनाले पानी खान थाल्यौं। साथीहरु डुबेको दृश्य हेरिरहेका योगेन्द्र हामीलाई बचाउन पानीमा हाम्फाले छन्, त्यो मैंले देख्न पाईंन। उनि पौडिंदै हामीलाई समात्न आएछन्। ब्राम्हण परिवारका जनै लगाएका उनि हामीसंगै तानिन पुगे। त्यसपछि हामी तिनै जना एकै ठाउँमा डुब्न थाल्यौं। १२-१३ फिट पानी मुनि पुगेछौं। यतिकैमा मान्छे डुबेको कुरा केहि माझीले थाहा पाएछन्। ३-४ जना माझी हामी डुबेको ठाउँ खोज्दै पानी मुनि छिरेछन्। तिनै जनाले एक एक जनालाई समातेर बाहिर निकाले छन्। ३ घण्टा पछि होस् खुल्दा मात्रै यी सबै घटना हामीलाई थाहा भयो। हाम्रो वरिपरि थुप्रै मान्छे कोहि हामीलाई नै गाली गर्दै, कोहि सान्त्वना दिंदै घेरिरहेका थिए। हाम्रो शरीर भित्रको सबै पानी तिनै माझीले नाकमुखबाट बाहिर निकालेछन्। हामी होसमा आउँदा माझीहरु हामीलाई छोडेर आफ्नो काममा गइसकेका थिए। उनीहरुसंग भेट समेत हुन सकेन। पानीमा डुबेर होसमा आउँदा मलाई पुनर्जन्म पाएको अनुभूति भयो। नयाँ जीवन पाएको महसुस भयो।

डुबेको मानिसलाई बचाउनु काँसीमा सबैभन्दा ठुलो पूण्य र धर्मका रुपमा लिइँदो रहेछ। हुन पनि शायदै हाम्रो जीवन मरणको दोसाँधमा ती माझीहरु त्यहाँ एकै छिन् मात्र नआईपुगेको भए यी मेरा अक्षरहरु, न स्वरहरु, न सङ्गीतहरु कहिलै यो जुनीमा तपाईं समक्ष आइपुग्ने पनि थिएनन् नै होला। त्यहि भएर म आफ्नो जीवन प्रति कृतज्ञ छु, जीवनको मूल्य बुझेको छु भन्ने सोच्छु। म आज पनि ती हामीलाई बचाउने माझीको बारेमा सोच्छु। ती को थिए, कस्ता थिए, किन हामीलाई पछि भेटेनन्। किन हामीबाट उनीहरुले कुनै अपेक्षा पनि राखेनन्, प्रश्न उठीरहन्छ। उनीहरु हामी बेहोस् भएको बेला आए बेहोसी मै गए। नेपाल आएपछि एउटा अन्तर्वार्ता दिएँ यस घटनाको बारेमा। त्यसबेला मैंले हिमालको वास्तविक नाम उल्लेख गरेको थिएँ। उनि हाम्रै गाउँठाउँका थिए। त्यो स्टोरी गाउँमा आइपुग्दा केहि फरकढङ्गबाट बुझियो। त्यसले उनको परिवारलाई धेरै नै पिढा दिएकोले आज उनको परिवर्तित नाम राख्न बाध्य भएँ। त्यो घटना पछि बिस्तारै हाम्रो हात समातेर साथीहरुले हाम्रो आ-आफ्नो डेरामा पुर्याई दिए। रातभरी निन्द्रा लागेन। शिरक ओढ्न सकिन। त्यसपछि मलाई वाटर फोबियाले सतायो लगभग १ बर्षसम्म। गङ्गाजीमा स्विमिङ् गर्न डर लाग्न थाल्यो। नदी देख्दै डर लाग्न थाल्यो। राती झस्किन थालें। करिब १ बर्ष पछि मात्रै म पुन: गङ्गाजीमा स्विमिङ् गर्न थालें। गुरुले यसबारेमा मन्त्र सिकाउनु भयो- तिमी जोसंग डराउँछौँ, त्यसले तिमीलाई लखेटी रहन्छ, वाटर फोबिया पनि त्यहि हो, तिमी पानीसंग जति डराउँछौँ त्यतिनै कायर बनाउँदै लैजान्छ। तिमीले गल्ति नगरेसम्म पानीले केहि गर्दैन, पानी संगै रमाऊ तर सधैं सजग र सतर्क रहु। गुरु दामोदर भारद्वाजको अर्ति उपदेश मनन् गर्दै पानी सम्बन्धमा मेरो बुझाई र अभ्यस्ततालाई माझ्दै गएँ, पानीसंग बिस्तारै आफै अनिकुलित हुँदै गएँ। करिव १ बर्षमा म भित्रको वाटर फोबिया हटेर गयो। गुरुले यो घटना पछि फेरी पनि दोहोर्याउनु भयो- काँसीमा पण्डा, गुण्डा, भेटि, केटि, साँढे, आगो, पानी र जवानीसंग डराउनु, अरु कोहिसंग यहाँ डराउनु पर्दैन। अरुसंग बच्दै गएँ तर पानी मेरो जीवनमा झन्डै अभिषाप नै बन्न पुग्यो।

काँसीमा ७०-८० लाख जनसंख्या थियो त्यहि बेला सन् १९८४ -८५ तिर । त्यो पबित्र तिर्थ स्थल। महाभारत, रामायण, उपनिषद्, रामचरित्र मानस आदि धार्मिक ग्रन्थमा उल्लेख भएको त्यो एतिहासिक ठाउँ कसलाई जान मन लाग्दैन होला र ! बिद्या प्राप्त गर्न काँसी जाने, संस्कृत, साहित्य, सङ्गीत पढ्न काँसी जाने, मोक्ष प्राप्तिका लागि मृत्युबरण गर्न काँसी जाने, राजनीतिक सेल्टर प्राप्तिका लागि काँसी जाने, पण्डित्याँईं गर्न, पढ्न काँसी जाने, पुस्तक लेख्न, छपाउन काँसी जाने, धर्म, कर्म गर्न काँसी जाने, आध्यात्मिक चिन्तन, मनन् र पबित्र अनुष्ठान गर्न काँसी जाने, निर्वासन र सुरक्षित बासास्थानका लागि काँसी जाने, घुम्न, फिर्न, गङ्गाजीमा पवित्र स्नान् गर्न, अस्तु सेलाउन काँसी जाने, पण्डित रबिशङ्कर र पण्डित हरिप्रसाद चौरसियाको सङ्गीत सुन्न काँसी जाने यस्ता हज्जारौं कारणले मानिसहरु काँसीमा थुप्रिने गरेको पाइन्थ्यो त्यो बेला। नेपालका प्रतिबन्धित राजनीतिक दलका नेताहरुको महत्वपुर्ण भेला, अधिबेशन, बैठक आदि त्यहिं हुन्थ्यो। पुष्पलाल, बिपी कोईराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, शुशिल कोईराला, राधाकृष्ण मैनाली, सिपी मैनाली, मदन भण्डारी, मोदनाथ प्रश्रित, बलराम उपाध्याय, शुशिला कोईराला, मोहन चापागाईं, भरतमोहन अधिकारी, गिरिजाप्रसाद कोईराला आदि धेरै राष्ट्रिय नेताहरुले त्यहि बनारसबाट नेपालको राजनीतिक परिवर्तनका आन्दोलनहरुलाई सघाउनु भयो। ती मध्ये कसैसंग भेट नै हुन्थ्यो, कसैलाई परबाट देखिन्थ्यो, कसैको हातबाट पुरस्कार पनि प्राप्त भयो, कसैको कुरा मात्र सुनिन्थ्यो। तर अहिले सोच्छु, नेपालमा त त्यसपछि प्रजातन्त्र आयो, गणतन्त्र आयो, यति धेरै परिवर्तनहरु भए। अब नेपालको राजनीतिका लागि बनारस बस्नु पर्दैन। अध्ययन गर्न पनि काँसी धाई रहनु पर्दैन। आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै जिल्लामा सबै कुरा छन्। नेताहरु निर्वासित भइ रहनु पर्दैन। समयले सबथोक दिएको छ। तर किन होला। जनताको सम्मृद्विको सपना पुरा अझै भएको छैन। हिजोको इफोर्ट आज लगाउने, हिजोको सोचलाई आज कार्यान्वयन गर्ने हो भने अझै धेरै उपलब्धिहरु हाँसिल गर्न सकिन्छ भन्ने मलाई लागिरहन्छ। जे होस् धार्मिक, आध्यात्मिक, पर्यटकीय, सांस्कृतिक एबम् नेपाली राजनीतिक नगरी काँसी, बनारसको प्रगति हेर्न एकदिन त्यहाँ जाने मन छ।

जाँदा जाँदै तस्बिरमा मलाई अङ्कमाल गरिरहेका केहि यी साथीहरु, दाईहरु सम्पर्क मै हुनुहुन्छ, बाँकी साथीहरु बारेमा खुल्दुली उठ्छ। ती साथीहरु को कहाँ होलान्, के गर्दै होलान्, उत्सुकता झन् थपिन्छ। ‘ब्लाक एण्ड व्हाइट’ केहि धमिला तस्बिरहरु मनस्मृतिमा स्वतस्फुर्त उनिएर आउँछन्। आफ्नै जीवन आफैं सामु सतिसाल भएर ठिङ्ग उभिन्छ। लाग्छ, बाङ्गाटिङ्गा रुखहरु भन्दा सतिसाल अवश्य केहि फरक नै हुन्छ।

प्रकासित मिति २०७७–६–१२

फेसबुकबाट तपाईको प्रतिक्रिया