३७ भन्दा बढी मुलुकको धीत मार्दै नेपाली चिया

काठमाडौं २५ फागुन २०७९।

नेपाल अधिकतर वस्तुमा परनिर्भर छ। बर्सेनि खर्बौंको कृषिजन्य वस्तु आयात गरिरहेको छ। तर नेपाली चियाले विश्वका ३७ बढी मुलुकका चिया पारखीको धीत मारिरहेको छ। नेपाली बगानमा उत्पादित चियाको स्वादले विश्व बजारका उपभोक्तालाई आकर्षित गरिरहेको छ।

यहाँ उत्पादित चिया गुणस्तरीय भएकैले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको र अहिले ३७ बढी मुलुकमा निर्यात हुन थालेको छ। नेपालको चिया छिमेकी मुलुक भारत, चीनमा मात्र होइन सात समुद्रपारि अमेरिका, क्यानडासम्म निर्यात भइरहेको छ।

पछिल्लो पटक चीनमा आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली बगानको चियाको स्वाद र महक अब्बल ठहरिएको थियो। चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ग्रान्ड गोल्ड मेडल प्राप्त गरेपछि यसको प्रचारप्रसारले व्यापकता पाउँदा माग बढ्न थालेको छ। इलामको तीनजुरे किसान सहकारी संस्थाले उत्पादन गरेको चियाले ग्रान्ड गोल्ड मेडल प्राप्त गरेको थियो। यस प्रतिस्पर्धामा गुणस्तरीय ठहरिएपछि विश्वका चिया पारखीको ध्यान नेपाली चियातर्फ थप आकर्षित भएको छ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग बढ्दै गएको चिया तथा कफी विकास बोर्डले जनाएको छ। ‘यहाँको चिया गुणस्तरीय भएकाले विश्व बजारमा प्रभाव बढ्दै गएको छ,’ चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले भने, ‘यो हाम्रा लागि ठुलो अवसर हो।’ मुलुकले ठुलो व्यापार घाटा व्यहोरिरहेको अवस्थामा निर्यात बढेको छ। मुलुकको कुल निर्यात व्यापार घटिरहेको अवस्थामा चियाको निर्यात बढेको छ। ‘पोहोरको तुलनामा चियाको निर्यात ३६ प्रतिशतले बढेको छ,’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘चीनको प्रतिस्पर्धामा अब्बल ठहरिएपछि पछिल्लो समय माग अझै बढेको छ।’

चालु आव २०७९र८० मा नेपालबाट २ अर्ब ७१ करोड ५ लाख रूपैयाँको चिया निर्यात भएको छ। नगदे बाली चिया मूल्यका हिसाबले थोरै देखिएपछि विश्व बजारमा बढ्दो मागले नेपाली किसानका लागि ठुलो अवसर सिर्जना भएको छ। भन्सार विभागका अनुसार ७ महिनाकै अवधिमा नेपालबाट अस्टे«लिया, चेक रिपब्लिक, जापान, नेदरल्यान्ड, स्विटजरल्यान्ड, संयुक्त अरब इमिरेट्स, अस्ट्रिया, इस्टोनिया, फिनल्यान्ड, जर्मनी, हङकङ, हंगेरी, इटाली, कोरिया, लिथुनिया, पोर्चुगल, न्युजिल्यान्ड, रसिया र सिंगापुर निर्यात भएको छ।

त्यसैगरी, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, श्रीलंका, स्विडेन, ताइवान, युक्रेन, बेलायत, फ्रान्स, पाकिस्तान, रोमानिया, नाम्बिया, इस्तोनिया, फिनल्यान्डलगायत मुलुकमा पनि चिया निर्यात भएको छ। ती देशमा सात महिनाको अवधिमा १ करोड २५ लाख ६५ हजार ५ सय ५२ किलो ग्रिनटी र ब्ल्याक टी ९फरमेन्टेड० निर्यात भएको छ।

चियाको बजार विस्तार गर्नका लागि विश्वका ठूला क्रेता ९बायर० लाई आमन्त्रण गरेर नेपालमा अन्तर्राष्ट्रिय टी इभेन्ट गर्ने बोर्डको तयारी छ। ‘बजारलाई अझ विस्तार गर्ने योजनामा छौं,’ भट्टराईले भने। चियाको उत्पादन बढाउन सके बजारको कुनै समस्या नहुने बोर्डले जनाएको छ। नेपालबाट अर्थोडक्स र सिटिसी चिया निर्यात हुन्छ। अर्थोडक्स चिया किलोको २० हजार रूपैयाँसम्म बिक्री हुने गरेको भट्टराईले बताए। ‘तेस्रो मुलुकमा उच्च मूल्यमा बिक्री भइरहेको छ,’ उनले भने, ‘नेपाली चियाको बजार सुनिश्चित छ।’ बोर्डका अनुसार करिब ८ अर्बको चिया उत्पादन हुन्छ। ‘उत्पादनको ५० प्रतिशत चिया स्वदेशमै खपत हुन्छ,’ भट्टराईले भने, ‘यो वर्ष वार्षिक करिब ४ अर्बको चिया निर्यात हुने अनुमान गरेका छौं।’नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया