६ महिनामा ४ लाख नेपाली विदेशिए


काठमाडौं ०५ माघ २०७९ ।

सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको भए पनि रोजगारीको खोजीमा विदेशिनेको सङ्ख्या बढिरहेको छ । चालू आर्थिक वर्षको पहिलो छ महिना (साउनदेखि पुससम्म)मा करिब चार लाख नेपाली रोजगारीको खोजीमा मलेसिया र खाडीलगायतका मुलुकमा गएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार आव २०७९र८० को पहिलो छ महिनामा तीन लाख ९८ हजार जना श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएका छन्, जसमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान) लगायतका देशमा जानेको हिस्सा ८० प्रतिशत रहेको छ । बाँकी हिस्सा अन्य देशमा गएको तथ्याङ्क छ ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले मङ्गलबार पदबहालीकै क्रममा बाध्यात्मक वैदेशिक रोजगारीलाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या हेर्दा त तत्काल बाध्यात्मक वैदेशिक रोजगारी रोकिने अवस्था नदेखिएको सरोकारवाला बताउँछन् ।

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङले स्वदेशमा रोजगारीका विकल्प तयार नगरी बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा तत्काल सम्भव नदेखिएको टिप्पणी गरे । उनले भने, “मन्त्रीज्यूले केही आधार दिएको भए शून्यमा झार्ने प्रयास यसरी रहेछ भन्ने हुन्थ्यो । त्यत्तिकै बोलेका भरमा शून्यमा झार्नेतर्फ विगतका मन्त्रीकै जस्तो हो, उहाँले गर्नुभयो भने हेरौँला नि त ।”

त्यसो त पछिल्लो समयमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर १२० देशमा नेपाली पुगेका छन् । श्रम स्वीकृति नलिई जानेको सङ्ख्या पनि हजारौँ छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतजस्ता मुलुकमा पनि नेपाली काम गर्न गएका छन् । यी मुलुकमा डिपेन्डेन्टका रूपमा काम गर्न जाने धेरै छन् ।

विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मङ्सिरमा ६८–६८ हजार र पुसमा ६५ हजारले श्रम स्वीकृति लिएका छन् । विभागका महानिर्देशक उमाकान्त आचार्यले गत दुई वर्ष बन्द रहेको मलेसियाको रोजगारी खुलेको र कतारमा जाने बढेकाले श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको बताए ।

सरकारले हालै मात्र वैदेशिक रोजगारीमा जानेका लागि सातै प्रदेशबाट सबै सेवा दिने व्यवस्था लागू गरेको छ । यसले आगामी दिनमा विदेश जानेको सङ्ख्या झनै बढ्ने सम्भावना छ । सरकारले केही दिनदेखि विराटनगर, जनकपुर, पोखरा, भैरहवा, सुर्खेत र धनगढीबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सम्पूर्ण व्यवस्था गरेको छ । यी स्थानमध्ये केही स्थानबाट सेवा दिन सुरु गरिएको छ भने केही स्थानमा पूर्वाधारका सामान मिलाउने काम भइरहेको विभागले जनाएको छ ।

आव २०७८र७९ मा छ लाख ३० हजार जनाले श्रम स्वीकृति लिएर विदेशिएकामा चालू आर्थिक वर्षको छ महिनामै करिब चार लाख नेपाली युवा श्रम स्वीकृति लिएर विदेशिएका छन् । पछिल्लो छ महिनाको तथ्याङ्क हेर्दा चालू आर्थिक वर्ष करिब आठ लाख युवा विदेश जाने देखिएको छ ।गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया