अख्तियारले निजगढमा घुस रकमसहित कर्मचारी सामायो

लक्ष्मी पाण्डे, निजगढ १ श्रावण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी यातायात व्यवस्था कार्यालय वीरगञ्जका एक जना कर्मचारीलाई सेवाग्राहीबाट लिएको घुस रकमसहित रङगे हात पक्राउ गरेको छ ।  आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाको टोलीले बाराको निजगढबाट शनिबार बिहान पौने ६ बजे यातायात व्यवस्था कार्यालय वीरगञ्जका नायबसुब्बा प्रेमकुमार भट्टराईलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

गाडीको सवारी दर्ता किताब अर्थात ब्लु बुक उपलब्ध गराउनका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा सुनसरी प्रकाशपुर घर भएका नायब सुब्बा भट्टराईलाई पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ । सुमोमा काठमाडौं जाने क्रममा निजगढको मुनलाइट होटल अगाडिबाट नायबसुब्बा भट्टराई सेवाग्राहीले दिएको घुससहित पक्राउ परेका हुन् ।भट्टराईले सेवाग्राहीलाइृ मुनलाइट होटल अगाडि बेलाएको र सेवाग्राहीले घुस रकम दिएलगत्तै उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया