अनसनरत डाक्टर केसीको अवस्था ‘जटिल’

काठमाडौं १८ अशोज

आमरण अनसनको आठौं दिन डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिदै गएपछि उनीसँगैको कोठामा सोमबार भेन्टिलेटर र डिसि सक मेसिन तम्तयार अवस्थामा राखिएको छ ।

एकदिन अघि केसीको मुटूको चाल कम हुने समस्या देखिएपछि कुनै पनि समय हुन सक्ने सम्भावित स्वास्थ्य सम्बन्धि जोखिमलाई दृष्टिगत गरी तयारी अवस्थामा राखिएको त्रिवि शिक्षण अस्पताल आइसियुका क्लिनिकल कोअर्डिनेटर डा.सुवास आचार्यले बताए ।
मुटूको चाल गडबड भएर मुटूले काम गर्न छोड्यो भने डिसि सक मेसिनद्वारा झटा दिएर मुटू चलाइन्छ भने भेन्टिलेटर कृत्रिम रुपमा स्वासप्रसाव गराउने आइसियुको अत्यावश्यक यन्त्र हो । रगतमा अक्सिजनको स्तर ९० भन्दा माथि हुनु पर्नेमा डा.केसीमा ७० सम्म झरेको देखिएको छ ।

 

सातौं अनसनताका देखिएको मुटूको समस्या (भेन्ट्रिकुलर ट्रैकिकार्डिया) लाई प्रबन्धन गर्नु हालको चुनौति भएको छ । लामो समयसम्म उक्त समस्या देखिए मुटूले काम गर्न छोड्न सक्ने स्थिति (कार्डियाक एरेष्ट) समेत देखिन सक्छ ।

 

केसीलाई रिंगटा लाग्ने समस्या देखिएको छ भने उनको पिसाबमा एसिटोन देखिइ सकेको छ । उनलाई मांसपेशी र छाती दुख्ने समस्यासमेत देखिएको छ । छातीको दुखाइ धेरै भएपछि शुक्रबारदेखी नै उनलाई अक्सिजन दिन थालिएको छ ।

 

रेजिडेन्टहरु मंगलबारदेखि आकस्मिक र शल्यक्रियाबाहेकमा सहभागि नहुने
डा.गोविन्द केसीको अनसनको समर्थनमा शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरुले मंगलबारदेखि इमर्जेन्सी र शल्यक्रियाबाहेकका कुनै पनि पठनपाठनको कार्यमा सहभागि नहुने बताएका छन् ।

नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनले डा.केसीको मागप्रति सम्वद्घ निकायले चासो नदेखाएपछि थप संघर्षको कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको जनाएको छ । एसोसिएसनका अध्यक्ष लिजन महर्जनले केसीको स्वास्थ्य स्थिति खस्कदै गएकोले उनको जीवन रक्षा गर्न सम्वद्घ सवै पक्ष संग अपिल समेत गरेका छन ।

एमबीबीएस भर्ना प्रक्रिया रोक्न डिनलाई केसीको पत्र

अनसनरत डा.गोविन्द केसीले चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनलाई पत्र लेखेर हाल शुरु गरिएको भर्ना प्रकृया तुरुन्त रोक्न अनुरोध गरेका छन् । उनले विभिन्न पक्षसँग साँठगाँठ गरी अभिभावकहरुसँग अरबौं रुपैयाँ अवैध रुपमा मेडिकल कलेजलाई दिलाउने काम रोक्न समेत ध्यानाकर्षण गराएका छन् ।

पत्रमा केसीले सरकार र आफूहरुबीच यसअघि भएका सम्झौता र सरकारले निर्णय गरेर सार्वजनिक गरे अनुसार विभिन्न मेडिकल कलेजको सिट संख्या र शुल्क निर्धारण हुनु पर्ने भए पनि यसको प्रतिकुल हुने गरी सिट र शुल्कमा मनपरी निर्णय गरिएको जनाएका छन् ।

आफू सत्याग्रहमा रहेको बेला समेत बारम्बार मौखिक र लिखित अनुरोधको वावजुद यस्तो निर्णय खेदजनक, गैरजिम्मेवार र सम्वेदनहीन काम रहेको उनले जनाएका छन ।

पत्रमा डा.केसीले भर्नाको लागि निजी मेडिकल कलेजलाई लेखि पठाइएको निर्णय तुरन्त निरस्त गरी तत्काल अर्को पत्राचार गर्न र यस पछाडी निर्णय गर्दा सम्झौता र राज्यको नीति निर्णयलाइ पालना गर्दे तोकिए वमोजिम शुृल्क लिने, सिट निर्धारण गर्ने र ओपेन हाउस काउन्सेलिङ्ग वाट मेरिट सुची वनाएर मात्र भर्ना लिन भनेका छन ।

संस्थानका निमित्त डिन डा.विमल सिन्हाले भने उक्त पत्र सोमबारसम्म आफू कहाँ नआएको बताए । हाल गरिएको सिट संख्या निर्धारण यसअघि गरिदै आइएको प्रकृया र फर्मुला अनुसार फ्याकल्टी बोर्डको निर्णय रहेको समेत उनले जनाए ।

डा.सिन्हाले भने, ‘शिक्षा मन्त्रालयले बनाएको समितिले एमविविएसको शुल्क तोक्ने हो, हामीकहाँ अझै सम्म शुल्क बारे कुनै आधिकारिक जानकारी आएको छैन ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया