अन्तरजातीयको जग्गेबाट बिहे

लक्ष्मी पाण्डे,

बारा २६ फागुन 
आफन्त र केही छिमेकीको समेत असहमति बाबजुद पनि बाराको निजगढ नगरपालिमा एक अन्तरजातीय जोडीले जग्गेबाट नै बिबाह गरेका छन ।
नगरपालिका ७ का २७ बर्षिय ऋतेष सुनुवार (विश्वकर्मा) र ९ की २३ बर्षिय पार्वती आले मगरले आफन्त र छिमेकीबाट भएको विरोधको पर्वाहा नगरी बिहिबार परम्परा अनुसार दाम्पत्य जीवन शुरु गरेका हुन । ‘धेरैले जात नमिल्नेसंग नगर्नु भनेका थिए, बेहुली पर्वतीका दाजु कुमार आलेले भने, तर दुबै राजी भएपछि घरको जग्गेबाटै अन्माइदिए ।’ कुमारले दाम्पत्य जीवन सफल हुन जात भन्दा पनि भावना र विचार मिल्नु पर्ने बताए । केही बर्षअघि पिता गुमाएपछि आमा सानुमाया र दाजु कुमारले पार्वतीको कन्यादान गरेका हुन । ऋतेष ४ दर्जन भन्दा बढी जन्तिका साथ ब्याण्ड बाजा बजाउदै दिउसो डेढ बजे पार्वतिको घर पुगेका थिए ।
३ बर्षअघि देखि प्रेम सम्बन्धमा जोडिएका नवदम्पतिले परम्परा अनुसार मागी बिबाहा गर्ने प्रस्ताव गरेपछि आफन्त र छिमेकीले समेत विरोध गरेका थिए । तल्लो जातको केटासंग बिहे गरेको भन्दै असन्तुष्ट बेहुली पार्वतीका काका टंक आले, काकी लगायत आफन्त र अधिकांश छिमेकी पनि बिबाहा कार्यक्रममा अनुपस्थित थिए ।

मगर कुलका स्थानीय पुरोहितले विधि अनुसार फरक जातकालाई मण्डपमा राखेर बिबाह गर्न नमिल्ने बताएपछि आफन्त र छिमेकी पनि बिबाह कार्यक्रममा सरिक हुन हिच्किचाएका हुन । पुरोहित कृष्णप्रसाद कोइरालाले अस्वीकार गरेपछि दाजु कुमारले हेटौडाका अर्का पण्डीत बोलाएर बिबाह सम्पन्न गरेका हुन । बेहुली पार्ततीले भावना र विचार मिलेपछि आफुहरु बिबाहा गर्न तयार भएको बताइन । ‘जात ठुलो कुरा होइन, उनले भनिन, भावना र विचार मिले मात्र सम्बन्ध बलियो र दिगो हुन्छ ।’ बेहुला ऋतेषका काका सितारामले आफनो परिवार र समाजमा भने अन्तरजातीय बिबाहको विषयमा कुनै विवाद नरहेको बताए । उनले पनि बिबाहको लागि जात भन्दा पनि केटा र केटीको मन मिल्नु पर्ने बताए । स्थानीय समाजसेवी कर्णबहादुर लामाको विचारमा अन्तरजातीय बिबाह गरेर पार्वती र ऋतेषले उदाहरणीय काम गरेका छन । यो बिबाहले अन्तरजातीय बिबाहको लागि अरुहरुलाई पनि प्रेरणा प्रदान गर्नुका साथै समाजबाट जातीय प्रथा र भेदभाव घटाउन पनि मद्दत पुग्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया