अन्तिम १५ मिनेटको समयमा सेयर मूल्यमा हुनसक्ने चलखेलको अन्त्य

काठमाडौं, ७ चैत, २०८१ । आजबाट सेयर बजारमा अन्तिम १५ मिनेटको समयमा सेयर मूल्यमा हुनसक्ने चलखेलको अन्त्य प्रणाली लागु हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आजदेखि अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था सुरु गरेको छ।

शेयर बजारको कारोवार सत्रमा प्रत्येक दिन दिनको २ः४५ देखि ३ः०० बजेसम्म कायम कम्पनीको मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्थासहित संशोधन गरिएको विनियमावली नेप्से बोर्डले लागू गर्ने निर्णय गरेको छ । यो नियम आजकै दिनदेखि लागु हुनेछ ।

हालसम्म बजार बन्द हुँदा अन्तिम पटकको कारोबार मूल्य नै त्यस दिनको लागि सो कम्पनीको अन्तिम मूल्य रहँदै आएको थियो । आजदेखि भने अघिल्लो दिनको अन्तिम मूल्य जुन तय हुन्छ, भोलिपल्टबाट सोही मूल्यमा २ प्रतिशतको सीमाभित्र रहेर पहिलो कारोबार हुने नेपाल स्टक एक्सचेन्स (नेप्से)ले जनाएको छ । अहिलेसम्म ३ बजेभन्दा अगाडि भएको अन्तिम कारोबार मूल्यलाई नै ‘क्लोजिङ प्राइस’ मानिदै आएको थियो ।

नेप्सेले यो प्रणाली यसअघि नै तयार गरिसकेको थियो । तर, लागु गरेको थिएन । मंगलबार बसेको सञ्चालक समितिको बैठकले आजबाट उक्त प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया