अपाङ्ग युवतीको प्रेरणदायी दैनिकी

मोरङ ३० कात्तिक। ।

कम्मर मुन्तिरको भाग बलजफ्ती हल्लाउनुपर्छ । त्यसमाथिको शरीर भने सग्लै छ तर दुबै गोडा सुकेकाले शरीरको भार थेग्न सक्दिनन् हात टेकेरै हिँडडुल गर्नुपर्छ रेणुका विश्वासलाई । बोलीमा आवाज पनि निस्कन सक्दैन तर मानसिक क्षमता भने बेजोड छ उनकाे ।

हाँसिरहने र हात जोडेर आदरभाउ जनाइरहने मोरङको पथरी शनिश्चरे– १२ को देउताटोल निवासी २४ वर्षीया विश्वासलाई सानैमा पोलियो भएको थियो । पोलियोका कारण दुबै खुट्टा लुलो भएकाले उनी शारीरिक रुपमा कमजोर बने । बुबा गुलावचन्दले भने –“उनी बोल्न सक्दिनन तर इशारा गरेर गाउँभरिका अभिभावक र युवायुवतीलाई ध्यान सिकाउँछिन् । ध्यान र योगा गर्न थालेपछि रेणुकाको आफ्नै जीवन पनि रुपान्तरण भएको छ ।” त्यहाँ दैनिक साँझ र बिहान एकएक घन्टा ध्यान गर्ने व्यवस्था मिलाइएको छ ।

‘भनिन्छ युवा पुस्ताले अध्यात्मतिर उतिसारो ध्यान दिँदैनन् । उनीहरु हाँसिमजाक, पढाइ र साथी सङ्गीसँगको रमाइलोमा दिन बिताउँछन् तर, शनिश्चरेकी ती अपाङ्ग युवतीले भने गाउँमा युबाहरुका लागि समेत ध्यान र योगाको गुरुमा बनेकी छिन् ।

सवलाङ्ग जस्तै उनले पनि आफ्नो काममा दक्षताको उदाहरण प्रस्तुत गरेकी छिन् । रेणुकाले दैनिक पचासजना साधकलाई योगा र ध्यानको कक्षा लिन्छिन् । गुरु आशोबाट प्रभावित उनले गाउँका आमा, काकी, सानीआमा, बुबा, काका, भाइबहिनी र आफू र गाउँका करिब एकसय सर्वसाधारणलाई पनि ध्यानको गहिराइमा डुबाउन सफल भएकी छिन् ।

दैनिक ध्यान गर्न आउने स्थानीय शिक्षक त्रिलोक न्यापानेले भने–“उनकै कारण गाउँमा ध्यानको माहोल बनेको छ । ध्यानमा सबै आकर्षित भएका छन् । समय निकालेर एक घन्टा म पनि आउँछु ।” ध्यान गर्न थालेपछि मानसिक तनावमा कमी आउनुका साथै जीवन सकारात्मक रुपमा बुझ्ने कला आफूले पनि बुझेको उनले बताए । रासस

 

फेसबुकबाट तपाईको प्रतिक्रिया