अप्टिकल फाइवरमा क्षति पुगेपछि जनकपूरमा संचार अवरोध

जनकपुरधाम २६ असार ।

जनकपुर उपमहानगरपालिकाका १५ सय सेवाग्राही दुई महिनादेखि सञ्चारविहीन छन् ।  एकीकृत शहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काम गर्दा अप्टिकल फाइवरमा क्षति पुर्याएपछि जनकपुरमा दुर्इ महिनादेखि संचारमा अवरोध आएको हो।

सञ्चारविहीन हुनेमा राजस्व कार्यालय, परिवार नियोजन संघलगायतका सरकारी र गैरसरकारी कार्यालयसमेत रहेका छन् । नेपाल टेलिकम कार्यालय जनकपुरले आयोजनाद्वारा समन्वय गरी निर्माण कार्य गर्दा अप्टिकल र टेलिफोनका तारमा क्षति पुगेको जनाएको छ। टेलिकमले क्षति पुगेका फाइवर मर्मतबारे कुनै सूचना नदिएकाले बन्द भएको टेलिफोन कहिलेदेखि सुचारु हुने बारे अन्योल उत्पन्न भएको छ।

यसैबीच टेलिकमका कर्मचारी र कार्यालय प्रमुखबीच मर्मतका बारेमा विवादसमेत उत्पन्न भएको छ । कार्यालय प्रमुखले प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीश, सुरक्षा निकाय र केही सरकारी कार्यालयको टेलिफोन मर्मत गराएको तर सर्वसाधारणलार्इ भने विभेद गरेको आरोप कर्मचारीले लगाएका छन्। मर्मत नभएपछि कर्मचारीहरुका सङ्घ र  युनियनले कारबाहीको माग गरेको एक महिना बितिसके पनि मर्मतको लागि पहल भएको छैन ।

प्रा डा भोगेन्द्र झाले प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंलाई यस सम्बन्धमा ध्यानाकर्षण गराउँदा टेलिफोन मर्मतबारे कुरा नगर्न भनेको गुनासो गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया