अमेरिका टीपीपीमा नआउने

हानोई (भियतनाम) ८ जेठ  ।

अमेरिका प्रशान्त आरपार साझेदारी (टीपीपी) व्यापार सम्झौतामा नफर्कने भएको छ । आइतवार अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटथाइजरले यस्तो बताएका हुन् । बहुपक्षीय व्यापार सम्झौताभन्दा द्विपक्षीय व्यापार सम्झौतालाई अमेरिकाले प्राथमिकता दिएको भन्दै एशियाली देशहरूसँग अमेरिकाले छुट्टाछुट्टै सम्झौता गर्ने बताएको छ । उनले भियतनामको हानोईमा आयोजित एशिया प्रशान्त आर्थिक सहकार्य (एपेक)का सदस्य देशहरूको मन्त्रीस्तरीय बैठकमा यस्तो बताएका हुन् ।

‘अमेरिका टीपीपीबाट बाहिरिइसकेको छ, अब यो निर्णय फेरिने छैन, यसको अर्थ हामी यस क्षेत्रसँग आबद्ध हुँदैनौं भन्ने चाहिँ होइन,’ लाइटथाइजरले भने । सम्झौतामा फर्किन अमेरिकाले अस्वीकार गरेपछि जापान र अन्य सदस्य राष्ट्रहरू सम्झौतालाई जीवित राख्न आपसमा थप वार्ता गर्न सहमत भएका छन् । सदस्य राष्ट्रले व्यापार सम्झौतालाई जीवितै राखे पनि तत्कालै यसमा अघि बढ्न पूर्ण प्रतिबद्धता जुटाउन भने सकेनन् । वार्ता सफल पार्न सदस्य राष्ट्रहरूले चीनको संलग्नताबारे पनि विचार गरिरहेका छन् ।

तर, समूहमा भियतनाम र म्यानमारलाई टिकाइराख्नु अहिलेका लागि सबैभन्दा ठूलो चुनौती भएको विश्लेषण गरिएको छ । यी दुई देशले अमेरिकी बजारमा सहज पहुँचका लागि टीपीपीमा हस्ताक्षर गरेका थिए । तर, वार्ताबाट अमेरिका बाहिरिएपछि यी दुवैले केही बुँदामा पुनः वार्ता चाहेका छन् । यस विषयमा आगामी वार्ता जुलाईमा जापानमा हुँदैछ । त्यस्तै नोभेम्बरमा बस्ने बैठकमा भने नयाँ प्रस्ताव आउने अपेक्षा गरिएको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया