अमेरिका सबैभन्दा धेरै सैन्य खर्च गर्ने देश

नयाँ दिल्ली १२ वैशाख ।
सैन्य क्षेत्रमा खर्च गर्ने देशहरूमा अमेरिका विश्वमै सबैभन्दा अगाडि रहेको छ । स्टकहोम इण्टरनेशनल पिस रिसर्च इन्ष्टिच्यूट (सिप्री)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गतवर्ष अमेरिकाले सैन्य गतिविधिमा ६ खर्ब ११ अर्ब डलर खर्चनेछ । खर्चको यो आकार गतवर्षको तुलनामा १ दशमलव ७ प्रतिशत बढी हो । सो अवधिमा अमेरिकी सैन्य खर्चमा भएको वृद्धिलाई विश्वव्यापी वित्तीय सङ्कटयता देखिएको खर्च घट्ने प्रवृत्तिको अन्त्य भएको सङ्केतका रूपमा हेरिएको छ ।
अमेरिकाको समग्र बजेटमा कानूनी विवाद चलिरहेको भए पनि सैन्य खर्च बढाउने विषयमा कङ्ग्रेसमा सहमति भएको सिप्रीका हातहतियार तथा सैन्य खर्च (एमेक्स) कार्यक्रमका निर्देशक आउडे फ्लेउरेण्टले बताएका छन् । गतवर्ष भारत विश्वकै पाँचौं ठूलो सैन्य खर्चालु देशका रूपमा रहेको छ । सो अवधिमा उसको सैन्य खर्च साढे ८ प्रतिशत बढी ५५ अर्ब ९० करोड डलर पुगेको छ । सबैभन्दा बढी खर्च गर्ने देशको सूचीमा चीन दोस्रो स्थानमा छ । सो अवधिमा उसको सैन्य खर्च ५ दशमलव ६ प्रतिशतले बढी २ खर्ब १५ अर्ब डलरमा उक्लिएको छ ।
वृद्धिको यो आकार अघिल्ला वर्षका तुलनामा निकै थोरै भएको सिप्रीले बताएको छ । तथ्याङ्कअनुसार रूसले सो अवधिमा ६९ अर्ब २० करोड डलर सैन्य क्षेत्रमा खर्च गरेको छ । खर्चको यो आकार अघिल्लो वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशत धेरै हो । योसँगै रूस सैन्य क्षेत्रमा धेरै खर्च गर्ने तेस्रो देश भएको छ । यद्यपि, सन् २०१५ मा तेस्रो ठूलो खर्च गर्ने देश साउदी अरेबिया यस वर्ष चौथो स्थानमा झरेको छ ।
गतवर्ष साउदीको सैन्य खर्च ३० प्रतिशतले घटी ६३ अर्ब ७० करोड डलरमा आएको छ । क्षेत्रीय युद्धमा साउदी अरेबियाको संलग्नता बढिरहेको भए पनि गतवर्ष यसको खर्चमा भने उच्च कमी आएको छ । सैन्य खर्चको शीर्ष १५ स्थानमा जापान, दक्षिण कोरिया र अष्ट्रेलिया पनि परेका छन् । गतवर्ष सैन्य क्षेत्रमा ९ अर्ब ९३ करोड डलर खर्च गरेको पाकिस्तान शीर्ष १५ मा परेको छैन । गतवर्ष विश्वव्यापी सैन्य खर्चले विश्वको कुल गार्हस्थ्य उत्पादनको २ दशमलव २ प्रतिशत हिस्सा ओगटेको थियो । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया