अर्थमन्त्रीज्यू, के यसरी नै आउने हो समृद्धि ?
सुरेन्द्र ढकाल
अर्थमन्त्री बन्ने बित्तिकै युवराज खतिवडाले अगाडिको सरकारले ढुकुटी रित्याएको स्वेतपत्र जारी गरेका थिए । ढुकुटी कसरी रित्तिएको रहेछ भनेर उनले बताएनन् । यसैबीच ओली र उनको सरकारमा रहेका मन्त्रीहरुको हालै सम्पत्ती विवरण सार्वजनिक भएको छ । हुँदै नभएका भनिएको र चुनावताका चुनाव खर्च नभई जनतासँग चन्दा मागेका भनेका मन्त्री लालबाबुको पनि जिन्सी र नगदी गरेर करोड नाघ्ने सम्पत्ती रहेछ । देशको ढुकुटी नेताको बैंक एकाउण्टमा गएपछि रित्तिने नै भयो नि ।
अर्थमन्त्रीले नभने पनि समयले बताइहाल्यो किन देशको ढुकुटी रित्तिँदो रहेछ भनेर । अर्को कुरा स्वयं अर्थमन्त्रीलाई पनि आफ्नो नेपाली मुद्राप्रति पटक्कै विश्वास रहेनछ भनेर पनि थाहा लाग्यो । हुन पनि दोहोरो अंकमा मुद्रास्फिति भई बर्सेनि मूल्य घट्दै भएको नेपाली मुद्रालाई पढे गुनेको अर्थमन्त्रीले विश्वास गर्ने कुरा पनि त भएन नि । यसै कारण उनले नेपाली मुद्रामा नभै विदेशी मुद्रा डलरमा आफ्नो बैंक एकाउण्ट खोलेका रहेछन् । सायद यस्तो राष्ट्रवादी अर्थमन्त्री त नेपालले पहिले कहिले पनि पाएको थिएन क्यारे ।
बहुदल आएपछि नेपाली जनताले नेताहरु गरिब भएको, धेरै वर्ष जेल बसेको कारण खान नपाइ च्यांग्रे अनुहार परेको, जुत्ता किन्न नसकेर
चप्पल पड्काएर हिँडने गरेको देख्थे । पञ्चहरुले मोज गरेको देख्ने बानी परेको नेपाली जनता आफ्ना नेताको त्यो हविगत देखेर भक्कानिन्थे । बहुदलीय जनवादलाई अंग्रेजीमा अनुवाद गर्ने क्रममा मलाइ दुई पटक मदन भण्डारीको चारढुंगे नक्सालस्थित डेरामा पुग्ने अवसर प्राप्त भएको थियो । उनको सादापन, बसाइको स्तर देख्दा साँच्चै नै नेताप्रति भित्रभित्रै श्रद्धा उर्लिएर आउँथ्यो । सायद तत्कालिन नेताहरुको सबैको नै त्यस्तै हविगत थियो । समयले कोल्टो फे¥यो । बहुदल आयो । भ्रष्टाचार गर्ने पञ्चहरु, जनहत्याराहरु कारवाहीमा परेनन् । मल्लिक आयोगको प्रतिवेदनलाई कांगेस्रको सरकारले रद्दीको टोकरीमा मिल्कायो । किनकी ऊ पञ्चलाई कारवाही गर्न चाहँदैनथ्यो बल्की पंचबाट सिक्न चाहन्थ्यो । कसरी राजनीतिलाई पेसा बनाइ धनआर्जन गर्ने भन्ने कुरा । कांगेस्र ले राम्रै सिक्यो ऊ नवधनाढ्य भयो । कमिसन खाने भ्रष्टाचार गर्ने कुरामा उसले पंचलाई उछिन्यो । त्यसपछि पालो आयो एमालेको सत्तामा आउने । ऊ पनि के कम जसरी भ्रष्टाचार गर्ने काममा कांगेस्रले पंचलाई उछिन्या्े, त्यसैगरी एमालेले कांग्रेसलाई उछिन्यो ।
देशमा नवधनाढ्यहरुको दिन दुई गुणा रात चौगुणा विकास हुन थालेपछि देशलाई लुट्न नसकेको अर्को समूहले पैसा कमाउने अर्को बाटो अँगाल्यो जनयुद्धको नाममा । चन्दा आतंक, बैंक लुटने कार्य गरी आफ्नो स्थितिलाई उसले मजवुत बनाउन सफल हुँदा उसले कमाउने काममा एमालेलाई पनि उछिन्यो । सबैभन्दा धनाढ्य उनीहरु बन्न पुगे । देशलाई एकपछि अर्को गदै लुट्ने सिण्डिकेटमा पंच, कांगेस्र-एमाले र माओवादीबीच दरो मिलोमतो (कार्टेलिङ) भएकै कारण देशको ढुकुटी रित्तिन पुगेको रहेछ भन्ने कुरा समय आफैंले प्रमाणित गरिदियो । आफुलाई समाजवादी भन्ने एकथरी र सर्वहारा वर्गका नेता भन्ने अर्का थरी आफैंले आफ्नो सम्पत्ती करौडौं भएको पुष्टी गरे तर कुन स्रोतबाट आयो ती सम्पत्ती भन्ने कुरामा उनीहरु मौन छन् । मौन किन छन् भन्दा ती सम्पत्ती उनीहरुले पसिना बगाएर कमाएका थिएनन्, विना स्रोत जम्मा हुन आएको सम्पत्तीको स्रोत कहाँबाट देखाउने ? सम्भव पनि हुँदैन नि । यसले के प्रमाणित गरिदियो भने राजनीतिमात्रै यस्तो पेसा हो जहाँ स्वतः भ्रष्टाचार हुँदैन न त राजनीतिकर्मीहरुले स्रोत नै देखाउन आवश्यक पर्छ । जसरी जनताले उनीहरुलाई मनपराएर भोट दिन्छन्, त्यसरी नै नोट पनि दिन्छन् भन्दा कुन अदालतमा उनीहरुलाई मुद्दा लाग्ला र ? पशुपतीको ढोकामा माग्न बसेको माग्नेले करोडांै रुपैयाँ कसरी कमाइस् भन्यो भने उसले लाजै नमानी मागेर कमाएको भन्छ त्यसरी नै नेताहरुलाई कसरी कमाइस् भन्ने हो भने उनीहरुले भन्ने पनि त्यही हो ।
चुडामणिले जाबो खरदारको गाइड बेचेर अरब रुपैयाँ कमाउन सक्छन् भने नेताहरुले भाषण बेचेर किन कमाउन सक्तैन्न ? जुन नेताको भाषण जस्लाई मनप¥यो उसले त्यही नेतालाई भने जति दियो अनि नेता धनाढ्य भए । ओलीलाई कसरी तैंले यतिका पैसा कमाइस् भनेर कसैले सोध्छ भने उनले ठाडै भन्नेछन् उखान टुक्का भजाएर भनेर । उखान टुक्का भनेकै भरमा भोट बटुली प्रधानमन्त्री बन्न पाइने अनि त्यसैको भरमा नोट बटुल्दा चाहीँ भ्रष्टाचार हुने ? कहाँको न्याय हो यो भनेर ओली कुर्लिए भने थपडी हान्नेको जमात करोडौं हुन सक्छ भने उनको सम्पत्ती जाबो ४ ।५ करोड हुनु कुन चाहिँ ठूलो कुरा हो त ?
पंचायत कालमा सुर्खेततिरका एक जना सांसद बुढा मगरले ल्याएको सुन भन्सारले समाइ जफत गर्दा उनले जनताको अगाडि गएर बिलौना गरेका थिए । तिमीहरु गरिब मतदाताहरुलाई बाडौला भनेर अलिकति सुन ल्याएको थिएँ विदेशबाट, कर्मचारीहरुले भन्सारमै लुटिदे । के गरुँ भन्दै छाती पिट्दै रुँदै थिए उनी । अहिले ३० किलो सुन हराएको चर्चा छ । एउटाको यसै कारण ज्यान गयो । अर्को हिरासतमा छ र ज्यान जाने अवस्थामा छ । किनकी सुन उसले आफ्नो लागि ल्याएको थिएन । विचरा नेताहरुको लागि ल्याइदिएको थियो । आफ्नो नाम गोरेले बताइदेला भनेर काले नेताहरु त्राहीमाम भएका छन् । त्यसैकारण पनि कुनै पनि बेला यिनीहरुले गोरेको ज्यान लिन सक्छन् । लिएमा अनौठौ पनि हँुदैन किनभने २० वर्ष जेल बसेका नेताहरुले जाबो २० करोड पनि कमाउन नपाइने भए के को महत्व हुन्छ राजनीतिको ? त्यसो भए अरुले जस्तै जागिर खान, ब्यवसाय गर्न गए भइहाल्यो नि किन गर्नु प¥यो राजनीति ? राजनीति भनेकै समृद्धिको लागि गर्ने हो समृद्धि भयो भन्दैमा भ्रष्टाचार ग¥यो भन्न पाइन्छ ? यसरी नै आउने हो समृद्धि । होइन त ?
(लेखक ढकाल नेकपा माले पोलिटब्युरो सदस्य हुन् )
प्रकाशित मिति २०७५-२-१९
फेसबुकबाट तपाईको प्रतिक्रिया