अलकापुरी भक्तपुर र मल्लकालीन भारदार विमोचन

भक्तपुर, ३ असोज

भक्तपुरमा आज एकैसाथ दुई पुस्तक ‘अलकापुरी भक्तपुर’ र ‘भक्तपुर दरबारका मल्लकालीन भारदारहरु’ सार्वजनिक गरिएको छ ।

पत्रकार एवं साहित्यकार जितेन्द्र श्रेष्ठ ‘रसिक’ को आठाँै कृति ‘अलकापुरी भक्तपुर’ र संस्कृतविद् ओम धौभडेलको भक्तपुर ‘दरबारका मल्लकालीन भारदारहरु’को पुरातत्व विभागका महानिर्देशक डा भेषनारायण दाहाल र साहित्यकार एवं संस्कृतकर्मी तेजेश्वरबाबु ग्वङ्गले विमोचन गर्नुभएको हो ।

स्वदेश प्रकाशन र भक्तपुर साहित्यिक समाजले संयुक्तरुपमा आज आयोजना गरेको पुस्तक सार्वजनिक कार्यक्रममा वक्ताहरुले रसिकद्वारा लिखित ‘अलकापुरी भक्तपुर’ मा भक्तपुरका कला संस्कृति, नाच, मठमन्दिरको जानकारी र तस्वीरसहितको पुस्तकले सिङ्गो भक्तपुरलाई बोकेको बताएका थिए ।

त्यसैगरी धौभडेलको पुस्तक ‘दरबारका मल्लकालीन भारदारहरु’ मल्ल राजाहरुको भारदारहरुको अवस्थाका बारेमा चित्रण गरिएकाले दुवै पुस्तक पठनीय, इतिहास, संस्कृतिलाई आत्मासात् गरेको पुस्तक भएकाले पाठकका लागि धेरै खुराक हुने चर्चा गरेका थिए ।

कार्यक्रममा महानिर्देशक दाहाल, साहित्यकार ग्वङ्ग, प्राध्यापक लेखक भगवान्चन्द्र ज्ञवाली लगायतले पुरस्तकको समीक्षा गर्दै भक्तपुरको सिङ्गो संस्कृतिलाई यसले पस्कने प्रयास गरेको बताउँदै यी दुई पुस्तक अनुसन्धानका लागिसमेत उपयोगी हुने चर्चा गर्नुभयो ।

कार्यक्रममा लेखकद्वय रसिक र धौभडेलले भक्तपुरको कला, संस्कृति, इतिहासको अवस्थाबारे जानकारी दिन र भक्तपुरलाई चिनाउन यी पुस्तकहरु उपयोगी हुने बताउनुभयो ।

भक्तपुर साहित्यिक समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति राजुराम मुनकर्मीले भक्तपुरमा पछिल्लो समयमा साहित्य लेखनतर्फ साहित्यकारको आकर्षण बढ्दै गएको र नयाँ साहित्यकारको जन्म भइरहेको सन्दर्भमा यस्ता पुस्तक प्रेरणाको स्रोतसमेत हुन सक्ने बताउनुभयो (रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया