अवैध मोबाइल फोन ब्लक गर्ने प्रक्रिया अघि बढ्यो

काठमाण्डौ,२ बैशाख
नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रुपमा आयात गरिएका मोबाइल फोन ब्लक गर्ने प्रक्रिया अघि बढाएको छ। आधिकारिक आईएमइआई नम्बर नभएका मोबाइल फोन ब्लक गर्ने निर्णय प्राधिकरणले अघि बढाएको हो। हिजो वैशाख १ गतेदेखि प्राधिकरणले सो प्रक्रिया अघि बढाएको हो। यस कार्यको पहिलो चरण सुरु भइसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने ” सुरुको चरणमा वैशाख १ गतेबाट आयात गरिने मोबाइल भन्सार कार्यालय र प्राधिकरणमा दर्ता हुनेछन्। आयात गर्न लागेको मोबाइलमा आईएमइआई नम्बरको सूची भन्सार कार्यालय र प्राधिकरणमा उपलब्ध गराउनुपर्नेछ”।
‘आईएमइआई नम्बर प्राधिकरणमा दर्ता भएपछि भने निर्देशन अनुसार भन्सार कार्यालयबाट उक्त फोनहरु ल्याउन सकिने छन्,’ उनले भने।

‘यो प्रक्रिया विभिन्न चरणमा विभाजन गरिएका कारण पहिलो ६ महिना भित्रमा आयात गरिने फोनमा आईएमइआई नम्बर दर्ता, अपरेटर कम्पनीको सिस्टम पूर्णरुपमा अपग्रेड र अपरेटर कम्पनीबाट मोबाइल प्रयोगकर्तालाई सूचना स्वरुप म्यासेज पठाइने छ,’प्रवक्ता अर्यालले बताए। पहिलो ६ महिनामा प्रयोगकर्तालाई सूचना मात्र दिइने भएका कारण मोबाइल फोन बन्द नहुने पनि उनले जानकारी दिए।

विभिन्न आयातकर्ता कम्पनीले अवेदन दिन सुरु गरिसकेको अर्यालले बताए। उनका अनुसार हाल यो सबै प्रक्रियाको लागि फारम भरेर प्राधिकरणमा सिधै बुझाउन सकिने वा इमेल मार्फत पनि पठाउन सकिनेछ। प्रक्रिया केही झन्झटिलो हुने कारण अनलाइन फारम भर्ने व्यवस्था मिलाइरहेको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया