अष्ट्रेलिया लत्याएर नेपाल फर्केका कमलबहादुरले पोखरामा अरुलाई पनि बनाए रोजगार

गण्डकी ।

पोखरा महानगरपालिका-१५ का ४२ वर्षीय कमलबहादुर बोहरा ६ वर्षअघि अष्ट्रेलियाबाट फर्के। त्यहाँ उनी मुर्ति बनाउने काम गर्थे।

भारतीय सेनामा १७ वर्ष काम गरी निर्वृत्त भएपछि उनी वैदेशिक रोजगारको सिलसिलामा अष्ट्रेलिया पुगेका थिए। मुर्तिको काम गरेर अष्ट्रेलियमा उनी मासिक २ लाख भन्दा बढी कमाउँथे।

सुरूसुरूमा मुर्तिकारको सहयोगी बनेर काम सिके। पछि आफै मुर्ति बनाउन सक्ने भए। त्यहाँ होटल तथा घरको सौन्दर्यकरणका लागि प्रयोग हुने विभिनन् किसिमका मूर्तिहरु बनाइन्थ्यो।

‘मुर्तिकारले पानीका झरना सहितका चरनमा रहेका जंगली जनावर र मागअनुसार मूर्ती बनाउनुहन्थ्यो,’ उनले भने, ‘सहयोगी भएर ६ महिना काम गरें।’

६ महिना काम गरेपछि कमलबहादुर पनि मुर्ति बनाउन सक्ने भए। मुर्ति बनाउन जान्ने भएपछि उनलाई अष्ट्रेलिया बस्न मन लागेन। आफूले जानेको सिप स्वदेशमै उपयोग गर्ने दृढ संकल्प बोकेर कमलबहादुर ६/७ महिनापछि नेपाल फर्किए।

स्वदेश फर्किएपछि पोखरामा मुर्ति बनाउने काम सुरू गरे। अहिले उनले मासिक ७० हजारभन्दा बढी आम्दानी गरिरहेका छन्। उनले तीन जनालाई रोजगारीसमेत दिएका छन्।

देवदेवताको मुर्ती बनाउन उनी आवश्यक सामग्रीबाहेक १२ हजार रूपैयाँ ज्याला लिन्छन्।

‘पानीको झरना आसपासमा बच्चा, मृग खेलिरहेको मुर्तिहरू ग्राहकले धेरै रूचाउँछन्, उहाँहरूले भनेअनुसारकै मुर्ति पनि बनाउँछौं,’ उनले भने, घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा पनि काम गर्छौं।’

Ncell
कमलबहादुर पोखरा महानगरपालिका वडा नं. १७ सिताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गरिरहेका छन्।

एक जोडी शिवलिंग र गौमुखे धारा निर्माण गरेको ६ हजार ५ सयका दरले ७ लाख २ हजारमा बनाउने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको हो।

उनले बनाएको शिवलिङ्ग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारी बताउँछन्।

कमलबहादुरसँग ढाकाराम अधिकारी, बर्दियाका समित थारू र विजय थारू काम गर्छन्। उनीहरूलाई मासिक १७ हजारका दरले पारिश्रमिक दिएको कमलबहादुर बताउँछन्।

‘मेरोमा काम नभएको समयमा उहाँहरु अन्यत्र पनि काम गर्न जानुहुन्छ,’ उनले भने।

स्वदेशमा केही गर्छु भन्ने दृढ इच्छा र संकल्प राख्ने हो भने विदेश जान नपर्ने कमलबहादुर बताउँछन्।RSS

फेसबुकबाट तपाईको प्रतिक्रिया