असन दुर्गन्धित
काठमाडौं ९ माघ
राणा प्रधानमन्त्री श्री ३ वीरशमशेरकालीन असनको ढल मर्मतसम्भार गर्न भन्दै जथाभाबी भत्काउँदा अहिले राजधानीको यो पुरानो बजार हिँडिनसक्नु गरी दुर्गन्धित भएको छ ।
यो बजारको मुख्य गल्ली सम्पदा मार्गमा जथाभाबी सात फिट गहिरो खाल्टो बनाइएको छ । महानगरले ढल थुनिएको भन्दै बिनायोजना ४-५ ठाउँमा ठूल्ठूला खाल्टा खनेपछि पुरानो ढल भेटिएको छ । उक्त पुरानो ढलमा वीरशमशेरकालीन इँट भेटियो तर महानगर र स्थानीयले यो ऐतिहासिक पक्षको बेवास्ता गरे । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
महानगरपालिका ३० असन बजारको ढल अहिले भताभुंग पार्दा यो ऐतिहासिक र पुरानो बजार सुनसान बन्न थालेको छ । करिब डेढ सय वर्षअघि निर्माण गरिएको ढल महानगर र राज्यका निकायले समयमा मर्मत नगर्दा अहिले ठप्पजस्तै भएको छ ।
मर्मतसम्भार भन्दै पुरानो ढल जथाभाबी खन्दा असन नै दुर्गन्धित बनेको काठमाडांै महानगरपालिकाका पूर्वमेयर तथा पूर्वमन्त्री पीएल सिंहले बताए । ‘ढल बाहिर बगेपछि ऐतिहासिक असन बजार प्र्रभावित भयो तर नयाँ योजना ल्याउन नसक्दा, मर्मत र पुनर्निर्माण गर्न नसक्दा र स्थानीयले पुराना सम्पदालाई बेवास्ता गर्दा ढल अलपत्र बनेको छ’, सिंहले भने ।
इन्जिनियरले ऐतिहासिक स्थलको संरक्षणमा चासो नदिई नयाँ योजना ल्याउनु विकासका नाममा विनास हुने उनको आरोप थियो । पुरातात्विक स्थल जोगाउन सोचेर काम गर्नुपर्ने तर पुर्खाले गरेको कामलाई भत्काउँदा इतिहास मेटिएको भन्दै उनले दुखेसो पोखे ।
स्थानीयले ढलको समस्या असन बजार पर्ने काठमाडौं क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधानलाई माघ ३ गते स्थलगत रूपमै देखाए पनि समधानको प्रयास नभएको गुनासो पोखे । सांसद प्रधानले काठमाडौं महानगरपालिकाका निर्माण प्रमुख उत्तरकुमार रेग्मीलाई तत्काल काम गर्न भनेपछि उनीहरूबीच चर्काचर्की भएको स्थानीयले बताए । ‘तर ऐतिहासिक ढल जीर्णोद्धारका विषयमा शब्दसमेत उच्चारण भएन’, स्थानीयले भने ।
सांसद प्रधानले तत्काल ढल नियन्त्रण गर्न आग्रह गरे पनि रेग्मीले नीतिनियमका कारण तत्काल काम गर्न नसकिने बताएपछि भेला भएका सयौं सर्वसाधारणले महानगरपालिकाविरुद्ध असन्तुष्टि जनाएका थिए । ढल व्यवस्थापनका लागि १० महिनाअघिदेखि नै महानगरपालिका, सम्बन्धित सांसद र सम्पदा विभागमा लिखित जानकारी गराए पनि कुनै वास्ता नभएको गुनासो स्थानीय बासिन्दा खड्गीले गरे । पुरानो ढल र पुरानो बस्तीमा व्यवस्थापनका लागि नयाँ योजना नल्याउनु महानगरपालिकाको ठूलो लापरबाही भएको उनको भनाइ थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया