आँप बिक्री नभएर बगैँचामा कुहिन थाले

काठमाडौँ २९ असार

सुर्खेत -भेरीगंगा नगरपालिका–१३ रामघाटका प्रेम वली आँप बिक्री नभएपछि चिन्तित हुनुहुन्छ ।उत्पादन भएको आँपले बजार नपाएपछि उहाँलाई चिन्ता भएको हो । बिक्री हुन नसक्दा अहिले आँप कुहिन थालेको छ ।“गत वर्ष आँप बेचेर रु तीन लाखसम्म आम्दानी गरेका थियौँ, यसपाली आँप बिक्री हुन सकेको छैन,” वलीले भन्नुभयो ।रामघाटकै धनसरा भण्डारीको आँप बिक्री नभएर बगैँचामा कुहिएको छ । “फलफूलबाहेक अन्य बाली राम्रो उत्पादन हुँदैन”, उहाँ भन्नुहुन्छ, “आँपबाटै गुजारा चलाउँदै आएका छौँ ।” आँप बिक्री नभए वर्षभरि नै भोकै बस्नुपर्ने हुन्छ ।

आँपले बजार नपाएपछि कृषकले कर्णाली प्रदेश सरकारसँग जुस उद्योग स्थापनाको माग गरेका छन् । कृषकले बजारीकरण गर्न जुस उद्योग र शीतभण्डारको माग गरेका छन् ।“आँप कुहिएर जाने भएकाले जुस उद्योग आवश्यक छ,” रामघाटका सुरेन्द्र सिंहले भन्नुभयो । भारतबाट आयात गरिएको आँपसँग यहाँ उत्पादित आँपले प्रतिष्पर्धा गर्न नसक्दा बजार पाउन नसकेको हो ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले आँपको बजारीकरणका लागि प्रदेश सरकारले पहल गर्ने बताउनुभयो । “यहाँको आँपको गुणस्तरमा समस्या देखिएको छ”, उहाँले भन्नुभयो । फलफूल बजारीकरणका लागि कर्णाली प्रदेश सरकारले रु तीन करोड बजेट छुट्याएको मन्त्री केसीले जानकारी दिनुभयो ।“प्रदेशका प्रत्येक जिल्लामा प्रशोधन केन्द्रका लागि रु ५० लाख बजेट छुट्याइएको छ,” उहाँले भन्नुभयो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया