आइएमई ग्रुपको करिब ३० करोड रुपैयाँको लगानीमा बागलुङमा इला कम्फोर्ट होटेल सञ्चालन
काठमाडौं २१ माघ २०८१ । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटेल सञ्चालनमा आएको छ । बागलुङमै सञ्चालनमा आएको इला कम्फोर्ट होटेलमा काली गण्डकी कोरिडोर तथा मध्यपहाडी लोकमार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुनेछ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शनिबार बागलुङमा आयोजित एक भव्य समारोहमा इला कम्फोर्ट होटेलको सेवा सञ्चालनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले आइएमई ग्रुपले पर्यटन पूर्वाधारका क्षेत्रमा गरेको लगानीले मुलुककै पर्यटन उद्योगमा सकारात्मक प्रभाव पारेको बताए । मन्त्री पाण्डेले नेपालको आर्थिक समृद्धिको भविष्य पर्यटनमै रहेको र यसको प्रवद्र्धन गर्न सरकार दृढ रहेको उल्लेख गरे ।
सो अवसरमा, गण्डकी प्रदेश सरकारका मन्त्री कृष्ण पाठकले आइएमई गु्रपले मुलुकभर पर्यटन पूर्वाधार विकासमा गरेको लगानीको चर्चा गर्दै गण्डकी प्रदेशमा थप लगानीका लागि आह्वान गरे । उनले भने, ‘अध्यक्ष ढकालले मुलुकका सातवटै प्रदेशसहित विभिन्न ठाउँमा पर्यटन पूर्वाधार विकासमा लगानी गर्दै हुनुहुन्छ । कुनै कुनै ठाउँमा केही अवरोध भएको सुनिएको छ । यदि त्यस्तो हो भने तपार्इं आफ्नो लगानी लिएर हाम्रो गण्डकी प्रदेशमा आउनुस् । हामी गण्डकीका जनता थप पर्यटकीय पूर्वाधार निर्माण गर्न तपाईंलाई स्वागत गर्दछौँ ।’
सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा सञ्चालनमा ल्याएको यो होटेलले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
साथै उनले मुलुकभित्र लगानी र रोजगारीको वातावरण नहुँदा विदेशिन बाध्य भएका लाखौँ नेपालीको भावनालाई समेटेर आफूले मुलुकका सातवटै प्रदेशमा होटेल तथा केवलकारसहितका पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको बताए ।
उनले भने, पर्यटन र जलविद्युत् क्षेत्रमा भएको लगानीले अर्थतन्त्र तथा नागरिकको जीवनस्तर सुधारमा बहुआयामिक फाइदा पु¥याउने भएकाले हामीले यी क्षेत्रमा लगानी केन्द्रित गरेका हौँ ।
यस होटेलले पर्यटक तथा अन्य पाहुनाका लागि स्तरीय सेवा सुविधा उपलब्ध गराउने र यसबाट कालीगण्डकी कोरिडोरमार्फत भारतको सुनौली तथा चीनसँगको कोरला नाका हुँदै नेपाल भ्रमण गर्ने भारत तथा चीनका पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भई बागलुङ तथा समग्र कालीगण्डकी क्षेत्रको पर्यटकीय, आर्थिक तथा सांस्कृतिक विकासमा थप योगदान पुग्ने पनि उनले बताए ।
कार्यक्रममा संघीय सांसदहरू दीपक गिरि, जीवन परियार, बागलुङ नगरपालिकाका मेयर वसन्त श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बागलुङमा होटेल सञ्चालनले यहाँको पर्यटन पूर्वाधारमा टेवा पुगेको बताउँदै थप लगानीका लागि आह्वान गरे । करिब ३० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको यो होटेलले बागलुङमा स्तरीय आवासको लागि नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ । लगभग ४ रोपनी जग्गामा फैलिएको, इला कम्फोर्ट बागलुङमा २७ अतिथि कक्ष, दुई सुन्दर सुइटहरू र एक विशेष पेन्ट हाउससहित ३० वटा आकर्षक ढंगले डिजाइन गरिएका कोठाहरू छन् ।
प्रत्येक आवासलाई परम्परागत आतिथ्यभन्दा नयाँ ढंगले असाधारण अनुभव महसुस हुने गरी तयार पारिएको छ ।
इला होटेल तथा रिसोर्टका प्रमुख सचिन ढकालले इला होटेलस एन्ड रिसोर्ट केवल नयाँ आतिथ्य ब्रान्ड मात्र नभएर यसले बागलुङ बसाइलाई अविस्मरणीय अनुभवहरूमा रूपान्तरण गर्ने बताएका छन् । प्रमुख ढकालले भने, ‘इला कम्फर्ट बागलुङमा, हामी केवल कोठाहरू प्रदान गर्दैनौँ, हामी हाम्रा पाहुनाहरूलाई उनीहरूको प्रस्थानपछि पनि लामो समयसम्म सम्झनलायक क्षणहरू सिर्जना गर्ने छौँ ।’
पोखरा विमानस्थलबाट केवल १.५ घन्टाको दूरीमा अवस्थित, पोखरा र बागलुङबीच प्रत्येक ३० मिनेटमा नियमित सार्वजनिक यातायात चल्ने भएकोले, होटेल आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुहरूको लागि सुविधाजनक पहुँचमा रहेको छ ।
इला कम्फर्ट बागलुङले ब्रान्डको इला ब्रान्डको होटेल विस्तार रणनीतिको पहिलो चरणको प्रतिनिधित्व गरेको छ । नवलपरासीको गैँडाकोटमा इला होटेल सुरु गर्ने तयारी भइरहेको छ भने नेपालका सबै सातै प्रदेशहरूमा सेवा विस्तार गर्ने योजना छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया