आइफोनका सबैथरी सेटमा यसरी गर्न सकिन्छ टेलिकमको फोर जी एक्टिभ

काठमाडौं २५ माघ
नेपाल टेलिकमको फोरजी सेवा अब आइफोन सेटका सबै सिरिजमा सञ्चालन हुने भएको छ। मंगलवारदेखि फोरजी सेवा सञ्चालन भएको जानकारी टेलिकमले विज्ञप्ति जारी गरी दिएको छ। यसअघि आइफोन ५ सिरिजका सेटमा मात्र यो सेवा प्रयोग गर्न सकिने थियो । अब आइफोन ६, ६+, ७, ७+ सिरिजका सेटहरुमा पनि फोरजी सेवा प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा बैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
टेलिकमले फोरजी सेवा सञ्चालन आरम्भ गर्नु अघि नै एप्पल कम्पनीका सबै सिरिजका मोवाइल फोन सेटहरुमा पनि यो सेवा प्रयोग गर्न सकिने व्यवस्था गर्न उक्त कम्पनीलाई आग्रह गरेपछि कम्पनीले आगामी मार्च महिनादेखि सो व्यवस्था गर्ने योजना भएको जानकारी गराएको थियो। सेवा सञ्चालन भइसकेपछि पनि आइफोनका केही सिरिजहरुमा सेवा प्रयोग गर्न नपाउँदा ग्राहकहरुलाई मर्का परेको महसुस गरी नेपाल टेलिकमले निरन्तर रुपमा एप्पल कम्पनीलाई आग्रह गरेपछि निर्धारित समय अगावै बेटा भर्सन रिलिज गरी आइफोनका सिरिजहरुमा फोरजी सेवा सञ्चालन गर्न सकिने व्यवस्था गरिदिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाल टेलिकमले २०७३ पुस १७ गते देखि नेपालमा पहिलो पटक फोरजी/एलटिइ सेवा सञ्चालनमा ल्याएको हो। आरम्भमा काठमाडौ उपत्यका र पोखरा उपत्यकाका पोष्टपेड मोवाइलका ग्राहकहरुका लागि फोरजी सेवा उपलब्ध गराइएको र कम्पनीको वार्षिकोत्सवका अवसरमा २०७३ माघ २२ गते देखि काठमाडौ र पोखराका प्रिपेड मोवाइल सेवाका ग्राहकहरुलाई पनि यो सेवा उपलब्ध गराइएको छ। कसरी गर्ने एक्टिभ ? आईफोन ६, ६+, ७, ७+ सिरिजका फोन सेटमा फोरजी÷एलटिइ सेवा सञ्चालन गर्न एप्पल कम्पनीको वेवसाइटमा उपलब्ध निर्देशन अनुसार आफ्नो फोनको व्याकअप लिई प्रोफिट डाउनलोड गर्नुपर्नेछ। त्यसपछि General >Setting>Software update मा गई बेटा भर्सन डाउनलोड गर्न सकिन्छ। सोपछि आइफोन ६ तथा माथिका सिरिजमा नेपाल टेलिकमको फोरजी सेवा प्रयोग गर्न सकिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया