आईएमएफले भन्यो-‘विश्व १९३० को महामन्दीपछिकै ऐतिहासिक संकटमा’
काठमाडौं, ३ वैशाख, २०७७
अन्तर्राष्ट्रिय मुद्रा कोषले यस वर्ष सन् १९३० को महामन्त्रीपछि ९० वर्षमा सबैभन्दा खराब वैश्विक गिरावट आएको बताएको छ ।
आईएमएफले कोरोना भाइरसको महामारीले संसारलाई ‘ऐतिहासिक संकट’ मा पारेको पनि उल्लेख गरेको छ । कोभिड–१९ को महामारी लामो समयसम्म कायम रहेमा संकट समाधानमा विश्वका सरकारहरु र केन्द्रीय बैंकको क्षमताको असली परीक्षा हुने जनाएको छ ।
आईएमएफकी मुख्य अर्थशास्त्री गीता गोपीनाथले भनिन्, ‘कोरोना संकटले आगामी दुई वर्षमा विश्वको जीडीपीको ९ खर्ब डलर नोक्सान गर्नेछ ।’
यद्यपि आईएमएफले संसारको अर्थव्यवस्थाबारे जारी गरेको आफ्नो ताजा रिपोर्ट ‘वल्र्ड इकोनोमिक आउटलुक’ मा बेलायत, जर्मनी, जापान र अमेरिकाजस्ता देशले तत्काल उठाएको कदमको प्रशंसा गरेको छ ।
आईएमएफको सो आउटलुकमा कुनै पनि देश यो नोक्सानीबाट बच्न नसक्ने उल्लेख गरिएको छ । यदि २०२० को दोस्रो ६ महिनाभित्रै कोभिड–१९ लाई नियन्त्रणमा लिन सकेमा आगामी वर्ष वैश्विक विकास ५.८ प्रतिशतमा रोकिनसक्ने उसको अनुमान छ ।
गीता गोपीनाथले सन् १९३० को आर्थिक महामन्दीपछि पहिलो पटक विकसित र विकाससील दुवै देश मन्दीको चक्रमा पहिलो पटक फस्न लागेको बताइन् ।
आईएमएफले विकसित देशको अर्थतन्त्र पनि सन् २०२२ भन्दा अघि उच्च दरमा अघि बढ्न नसक्ने चेतावनी दिएको छ । अमेरिकाको अर्थव्यवस्थाले यो वर्ष ५.९ प्रतिशतले नोक्सानी भोग्नसक्नेछ ।
सन् १९४६ पनि अमेरिकी अर्थव्यवस्थामा यो सबैभन्दा ठूलो नोक्सानी हुनेछ । अमेरिकामा यो वर्ष बेरोजगारी दर १०.४ प्रतिशत हुनेछ । सन् २०२१ सम्म अमेरिकी अर्थव्यवस्थामा ४.७ प्रतिशत विकाससहित केही सुधार हुने आईएमएफको विश्वास छ ।
चीनको अर्थव्यवस्था भने यो वर्ष १.२ प्रतिशतले बढ्न सक्छ । यद्यपि सन् १९७६ पछि चीनको यो सबैभन्दा कम विकासदर हुनेछ । सन् १९९१ पछि अस्ट्रेलियाले पहिलो पटक मन्दीको सामना गर्नुपर्ने सम्भावना पनि औल्याइएको छ ।
आईएमएफले कोरोना भाइरसको महामारी नियन्त्रणमा थप समय लाग्यो र सन् २०२१ मा कोरोना संकट फर्कियो भने अवस्था धेरै खतरनाक हुने र वैश्विक जीडीपीमा ८ प्रतिशतसम्म नोक्सान हुने अनुमान गरेको छ ।Agency
फेसबुकबाट तपाईको प्रतिक्रिया