आईफोन उत्पादनको काममा रोबोटको प्रयोग गरिने !

ताइपेई २७ पौष 

एप्पलको आईफोन उत्पादन गर्दै आएको ताइवानी कम्पनी फक्सकनले आईफोनलगायत मुख्य विद्युतीय सामानको उत्पादन गर्न मानव जनशक्तिको ठाउँमा रोबोटलाई प्रयोगमा ल्याउने भएको छ ।

फक्सकनका अटोमेसन समितिका महाप्रबन्धक डाई जिया पेङले चिनियाँ कारखानामा सफ्टवेयर र फक्सबोटको नामले चिनिएको इन हाउस रोबोटिक्सको प्रयोग गरेर आईफोन उत्पादन गर्ने तीन चरणको योजना बनाएको बताएका छन् ।

पहिलो चरणमा जोखिमयुक्त तथा मानिसले गर्न चासो नदेखाएका काम रोबोटले गर्ने कम्पनीले जनाएको छ । दोस्रो चरणमा क्षमता सुधारको कार्यक्रम छ । महाप्रबन्धक पेङका अनुसार तेस्रो चरणमा पूरै कारखानालाई अटोमेसनमा लैजाने तयारी छ। यसमा उत्पादनका क्रममा न्यूनतम मानिसको मात्रै काम आउने उनले बताए ।

वर्षौंदेखि फक्सकनमा उत्पादनको क्षेत्रमा थोरै भए पनि अटोमेसनलाई कार्यान्वयनमा ल्याइएको छ । कम्पनीले गत वर्ष चिनियाँ कारखानामा  आगामी २०२० देखि ०३० प्रतिशत कामलाई अटोमेसनमा लैजाने बताइसकेको छ ।

कम्पनीले हाल वार्षिक १० हजारको हाराहारीमा फक्सबोटको उत्पादन गर्दै आएको जिया पेङले बताए । यसले मानवीय जनशक्तिलाई विस्थापित पनि गर्दै आएको छ । मार्चमा फक्सकनले आफ्नो कारखानामा ६० हजार रोजगारी अटोमेसनमा लगेको जानकारी गराएको थियो ।एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया