आगामी वर्ष एसिया–प्रशान्त क्षेत्रका बैंकहरूमा तलब वृद्धि घट्ने

एजेन्सी
हङकङ १५ मंसिर
आगामी वर्ष एसिया–प्रशान्त क्षेत्रका बैंकहरूमा तलब वृद्धि घट्ने देखिएको छ । वित्तीय क्षेत्रमा प्राविधिक सीप भएका व्यक्तिको अभावका कारण यस्तो अवस्था सिर्जना हुने विलिस टावर्स वाट्सनले जानकारी दिएको छ । व्यापार बढी तथ्यांक र प्रविधिमुखी हुँदै गएको छ । यसमा बैंकिङ क्षेत्र पनि अपवादका रूपमा रहन सक्दैन । यो वित्त र प्रविधिको फ्युजनका रूपमा देखा परेको छ ।

विलिस टावर्स वाट्सनको सर्भेले आगामी वर्षका लागि बैंकिङ तलब बजेट धेरै तल हुने देखाएको छ । आगामी वर्ष एसिया प्रशान्तको बैंकिङ क्षेत्रको तलब ४.८ प्रतिशतले मात्रै वृद्धि हुने देखिएको छ । चीनको वित्तीय केन्द्र, हङकङ र सिंगापुरमा बैंकिङ तलब क्रमशः ६.३, ३.६ र ३ प्रतिशतले वृद्धि हुने अध्ययनले देखाएको छ । यो चीनका लागि प्रक्षेपित ७.५ प्रतिशत अनि हङकङ र सिंगापुरका लागि प्रक्षेपित ४ प्रतिशतको दाँजोमा ठूलो अन्तरले कम हो ।

वित्तीय संकटपूर्वको अवस्थाविपरीत युनिभर्सिटीका स्नातकहरूका लागि बैंकिङ लामो समयसम्म रोजाइको क्षेत्र नपरेको उक्त फर्मको ग्लोबल फाइनान्सियल अभ्यासका एसिया–प्रशान्तका प्रमुख ग्रेग कुसजाईले उल्लेख गरे । गैरवित्तीय सेवाका फर्ममा आकर्षण बढ्दो मात्रामा रहेको उनले बताए । वित्तीय सेवाका क्षेत्रमा दिइने पारिश्रमिक ओरालो लागेकाले यो क्षेत्रको आकर्षणमा पनि कमी आएको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया