आजबाट सपोर्ट माइक्रोफाइनान्सको आईपीओमा आबेदन खुला, कस्तो छ कम्पनी ?

सपोर्ट माइक्रोफाइनान्सले आज बुधबारदेखि एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता आईपिओ निष्कासन गर्ने भएको हो ।

आईपीओ निष्कासन असोज १८ गतेदेखि हुने र छिटोमा असोज २३ गते बन्द हुने माइक्रोफाइनान्सले जनाइएको छ । निष्कासित कुल एक लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत सेयर कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशत सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ ।

धितोपत्र बोर्डबार्ट आश्वा सेवा स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका सबै शाखाबाट कम्पनीको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकत्म ९०० कित्तासम्म आवेदन गर्न सकिनेछ । माइक्रोफाइनान्सको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

हाल चार करोड रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको आईपिओ निष्काशनपछि चुक्ता पूँजी पाँच करोड ८० लाख रुपैयाँ पुग्नेछ । सपोर्ट माइक्रोफाइनान्स पाँचथर, भोजपुर, खोटाङ, उदयपुर, तेह्रथुम, धनकुटा, सुनसरी, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लालाई कार्यक्षेत्र बनाई २०७२ साउनदेखि सञ्चालनमा छ ।

माईक्रोफाइनान्सले गत आर्थिक बर्षमा ४८ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएको थियो । हाल उसको जगेडाकोषमा ३१ लाख १९ हजार रुपैयाँ सञ्चित छ । माइक्रोफाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ८२ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १६ दशमलव ९८ प्रतिशत रहेको छ । माईक्रोफाइनान्सको केन्द्रिय कार्यालय इटहरीमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया