आज घोडेजात्रा, भूतपिशाच भगाउन टुँडिखेलमा घोडादौड

काठमाडौं  १४ चैत्र

आज घोडे जात्रा। बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडैजात्रा मनाउने प्रचलन छ। चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ। परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे। यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका दिन केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँसीको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिएको हो।  चैत कृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचलाई बुझाइने र नजानेलाई औँसीका दिन घोडाको टापले कुल्चिएर भगाउने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।

‘विशेषगरी बालबालिकालाई किचकन्या, मुर्कट्टा आदि नामका नकारात्मक तत्वले दुःख नदिऊन् भनी यो पर्वमा सहरभर घोडा कुदाउने गरिन्थ्यो, घना बस्ती विस्तार भएपछि हाल टुँडिखेलमा मात्र कुदाउन थालिएको छ,’ उनले भने। पहिले भूत, प्रेत आदि नकारात्मक तत्वका कारण कालिमाटी क्षेत्रका मानिससमेत स्युचाटारको कुनामा जग्गा लिएर बस्ने गरेको काठमाडौंवासी बताउँछन्। घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने चलन छ। सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदासमेत दिएको छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया